बौद्ध प्रहरीले मंसिर १८ गते १० किलो सुन बरामद गर्यो। मोटरसाइकल जाँच गर्ने क्रममा १—१ किलोका १० वटा सुनको बिस्कुट फेला परेको थियो।
उता, पुस पहिलो साता केरुङबाट काठमाडौं आउन लागेका एक व्यक्तिको साथबाट रसुवा प्रहरीले ५ किलो सुन बरामद गर्यो।
गत पुस १४ गते हाइलक्स गाडीमा लुकाएर ल्याएको अवस्थामा महानगरीय अपराध महाशाखा टेकुले ७ किलो सुन कलंकीबाट बरामद गर्यो।
बा८च ७४२० नम्बरको गाडी जाँच गर्ने क्रममा सुन भेटिएपछि चालक कुसान लामा पक्राउ परे। काठमाडौं पेप्सीकोलाबाट ३ किलो सुन बरामद भएको केहीदिनमै बालाजुबाट प्रहरीले १५ किलो सुन भेट्टायो।
पछिल्लो दुई महिना अवधिमा प्रहरीले काठमाडौंबाट ४० किलो सुन बरामद गरेको छ। ती सबै केरुङ नाका हुँदै नेपाल भित्रिएका थिए।
भुइँचालोपछि बन्द भएको तातोपानी नाका अहिलेसम्म नखुलेकाले केरुङ हुँदै तस्करी बढेको प्रहरीले जनाएको छ।
यति कम समयमा यति ठूलो परिमाणको सुन एउटै नाकाबाट भित्रिनुले केरुङमा सुरक्षा स्थिति फितलो रहेको संकेत गर्छ। जबकि, केरुङबाट काठमाडौं आउँदा १३ ठाउँमा प्रहरी जाँच छ। रसुवामा मात्र ११ ठाउँमा प्रहरी जाँच पार गर्नुपर्छ। यसबाहेक नुवाकोटमा त्रिशूली र काठमाडौंमा गल्छीको बाटो आए थानकोट र ककनी हुँदै आए बालाजु प्रहरीले पनि जाँच गर्छ।
केरुङबाट आउँदा सबैभन्दा पहिले रसुवागढीमा भन्सारको चेकजाँच पार गर्नुपर्छ। त्यसपछि सशस्त्र र नेपाल प्रहरी दुवैले संयुक्त रूपमा जाँच गर्छन्।
रसुवागढी नाघेर आएपछि टिमुरेमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले छट्टाछुट्टै जाँच गर्छन्। यति मात्र होइन, स्याफ्रुबेसीमा सेना, धुन्चेमा सशस्त्र र नेपाल प्रहरीको जाँच गर्ने स्थान फरक–फरक छ। धुन्चेमा सेनाले पनि जाँच गर्छ। त्यसपछि कालिकास्थानमा सेना र बेत्रावतिमा नेपाल प्रहरीले छुट्टाछुट्टै जाँच गर्छन्।
यत्रो सुरक्षा घेरा तोडेर तस्करहरू काठमाडौंसम्म सुन ल्याइपुर्याउन कसरी सफल हुन्छन् त?
मध्यमाञ्चल प्रहरी प्रमुख डिआइजी पशुपति उपाध्याय तस्करहरूले नयाँ–नयाँ जुक्ति लगाएर सुन तस्कर गर्ने गरेको र सुरक्षा घेरा पार गर्ने गरेको बताउँछन्।
‘सबै स्थानमा चेकजाँच छ, तै पनि तस्करहरूले सुन तस्कर गरिरहेका छन्,’ डिआइजी उपाध्यायले आइतबार सेतोपाटीसँग भने, ‘कतिपय त सूचना नपाउँदा पनि प्रहरीलाई समस्या भएको छ।’ रसुवागढीमा सामान हेर्ने काम प्रहरीको भन्दा भन्सारको बढी हुने उनले बताए।
रसुवा प्रहरीका प्रहरी निरीक्षक सानुबाबु भण्डारी त कडा जाँच गर्दा पनि सुन तस्करी कसरी भइरहेको छ भन्ने भेउ पाउन नसकेको बताउँछन्।
‘म आएको दुई साताजति भयो,’ उनले भने, ‘सबै ठाउँमा चेक गरेकै छु, देखादेख सुन छाडेको छैन। छाड्ने कुरा पनि भएन।’
सुन तस्करले केरुङदेखि काठमाडौंसम्म आइपुग्दा बीच–बीचमा गाडी फेरबदल गर्ने गरेको प्रहरीको अनुमान छ। पछिल्लो समय भने यो गाडी फेरबदलको अवस्था पनि विचार पुर्याउन थालेको भण्डारी बताउँछन्।
प्रहरी, सशस्त्र प्रहरी र सेनाको मिलेमतोविना तस्करले काठमाडौंसम्म सुन ल्याउन नसक्ने उच्च सुरक्षा अधिकारी नै स्वीकार गर्छन्।
‘सेटिङबिना यति धेरै सुन काठमाडौं भित्र्याउन सकिँदैन,’ नेपाल प्रहरीका एक उच्च अधिकारीले सेतोपाटीसँग भने, सुन तस्करीमा हाइप्रोफाइल मानिसको संलग्नता छ, कुनै दिन त्यो पनि सार्वजनिक होला।’