नेकपा माओवादी केन्द्रका हेडक्वाटर सदस्य तथा पूर्व शिक्षामन्त्री गिरीराजमणी पोखरेलले संविधान संशोधन विधेक राजनीति दलहरुकै सहमतिमा पारित गरिनु पर्नेमा जोड दिएका छन्।
महोत्तरीको मेघनाथ गोरहन्नमा शिवशक्ति युवा क्लबले शनिबार आयोजना गरेको नकआउट खुल्ला भलिवल प्रतियोगिताको उद्घाटन गर्दै नेता पोखरेलले आउँदो मंसिरभित्र तीनै तहको निर्वाचन हुने बताए।
नेता पोखरेलले भने,‘संविधान संसोधन बिषय टेबल भइसकेको छ। यसलाई सहमतिमै पारित गरौं। यदि त्यसो हुदैंन भने सदनको निर्णयलाई मानौं र अघि बढौं।’ संविधान संसोधन भए अघि बढे चुनाव गराउन सहज हुने उनको भनाई थियो।
सिंहदरबारको अधिकार गाउँपालिका र नगरपालिकामा लैजाने बिषयमा मधेश केन्द्रीत दलहरुले विरोध गरिरहेको भन्दै नेता पोखरेलले विरोध गर्नु उचित नरहेको औंल्याए। उनले भने,‘सिंहदरबारको अधिकार गाउँपालिका र नगरपालिकालाई दिइदैंन भने संघीयताको दृष्टिकोणले सही हुदैंन।’
खेलकुदको प्रसङ्गमा नेता पोखरेलले खेलाडीलाई प्रशिक्षण दिन, खेल खेलाउन, खेलकुदको सीप सिकाउन सम्भाव्यता अध्ययन गरेर देशमा खेलकुद विश्व विद्यालय स्थापना गर्नुपर्ने बताए। भलिवल खेलमा महोत्तरी, धनुषा, सर्लाही, रौत्तहट ,बारा, पर्सा, सिरहा लगायत जिल्लाको १२ वटा टिमको सहभागिता छ।