उपप्रधानमन्त्री तथा गृह मन्त्री विमलेन्द्र निधिले मधेशी, थारुसहितका समुदायको माग सम्बोधन गरेर मात्रै निर्वाचनमा जाने बताएका छन्।
उनले मधेशी, थारु, जनजाति लगायतका समुदायको माग सम्बोधन गर्न सरकारले संविधान संशोधन प्रस्ताव ल्याउनु परेको पनि उल्लेख गरे। राष्ट्रिय थारु महोत्सवको काठमाडौंमा उदघाटन गर्दै उनले सरकार मधेशी र थारु समुदायको समर्थनमा बनेको भन्दै उनीहरुको माग सम्बोधन नगरी निर्वाचनमा जान नसकिने पनि स्पष्ट पारे।
उपप्रधानमन्त्री निधिले नेपाल विविधताले युक्त सम्पन्न मुलुक भएको उल्लेख गर्दै एकता र मेलमिलापको साथ अघि बढ्नुपर्ने आवश्यक्तामा पनि जोड दिए। उनले विभिन्न भाषाभाषी, जातजाति, धर्म, संस्कृति र भूगोलले एकले अर्काको सम्मान गरेर अघि बढ्दानै मुलुकको हित हुने पनि धारणा राखे। महोत्सवमा थारु भाषा र संस्कृति झल्कने खालका विभिन्न सांस्कृतिक झाँकीहरु पनि प्रस्तुत गरिएको थियो ।