तेह्रथुमको आठराई सङ्क्रान्तिबजारमा भएको आगलागी पीडितलाई अमेरिका र डेनमार्कबाट १९ लाख रुपैयाँ बराबरको राहत सहयोग प्राप्त भएको छ।
इवा घर भई हाल वाईट हेड नामक अमेरिकन कम्पनीमा कार्यरत इन्जिनियर मदन इङ्नाम र अमेरिकन नागरिक मार्क डियोनीको अगुवाइमा सङ्कलित १२ लाख ११ हजार नगद र पाँच लाख बराबरको जिन्सी सामग्री उपलब्ध भएको हो। यस्तै डेनमार्कबाट समेत तीन लाख बढी नगद सहयोग प्राप्त भएको छ।
आफ्नो गाउँमा भएको आगलागीका पीडितलाई इन्जिनियर इङ्नामले सङ्कलन गरेको सो रकम र सामाग्री शुक्रबार सङ्क्रान्तिबजार पुगेर हस्तान्तरण गरेको समाजसेवी डम्बर इङ्नामले जानकारी दिए। इङ्नामले १२ लाख ११ हजार रुपैयाँ चेक प्रदान गरेको र सो रकम ‘सङ्क्रान्तिबजार पुनःनिर्माण तथा पुनःस्थापना कोष’ मा जम्मा गरिने इलाका प्रशासन कार्यालय प्रमुख सफल पोर्तेलले बताए। जिन्सी सामाग्रीतर्फ ६० परिवारलाई प्रेसर कुकर, कराई र थर्मस प्राप्त भएको छ।
अग्निपिडित परिवारलाई डेनमार्कबाट पनि सहयोग रकम उपलब्ध भएको छ। सङ्क्रान्तिबजार हाल डेनमार्क निवासी रोशन सिटौला र राजु शिवाकोटीमार्फत् डेनमार्क ग्रुपले सञ्चालन गरेको अभियानबाट सहयोग रकम उपलब्ध भएको हो। इप्रका सङ्क्रान्तिमा भएको कार्यक्रममा समाजसेवी शिवाकोटीको आमा सरला शिवाकोटीले तीन लाख २६ हजार २ सय ६७ रुपैयाँको चेक उद्योग वाणिज्य सङ्घ सङ्क्रान्तिबजारका अध्यक्षलाई हस्तान्तरण गरेका छन्।
अग्निपीडितकालागि हालसम्म सांसद सीता गुरुङले १५ लाख र प्रधानमन्त्री पुष्पकमल दाहालले एक करोड दिने घोषणा गरेका छन्। गत पुस १ गते भएको भीषण आगलागीबाट सङ्क्रान्तिबजारका ३२ घरसहित ७३ परिवार विस्थापित भएका थिए। आगलागीबाट १४ करोड आठ लाख बराबरको क्षति भएको थियो। रासस