बेनी नगरपालिका २ र ३ मा करिब तीन करोडको लागतमा ज्यामरककोट, अर्जन, रत्नेचौर खानेपानी तथा सरसफाइ आयोजना निर्माण सुरु भएको छ।
खानेपानी तथा सरसफाइ सवडिभिजन कार्यालय म्याग्दीमार्फत निर्माण सुरु भएको आयोजनाबाट भकुण्डे र अर्जमका ३६७ घरधुरी लाभान्वित हुने जनाइएको छ। दुई करोड ९८ लाख ७२ हजार २ सय ८५ रुपैयाँ लागत अनुमान गरिएको आयोजना आगामी वर्ष सम्पन्न गर्ने लक्ष्य रहेको सवडिभिजन प्रमुख इञ्जिनियर शेखरचन्द्र केसीले जानकारी दिए।
आयोजनामा उपभोक्ताको ५९ लाख ७४ हजार ४ सय ५७ रुपैयाँ बराबरको नगद तथा श्रमदान सहभागिता रहने कार्यालयले जनाएको छ। गत वर्ष दश लाख बराबरको काम भएको आयोजनाका लागि यस वर्ष ५५ लाख बजेट प्राप्त भएको छ। बिमीराबोटमा रहेको मुहानमा इन्टेक, ग्राभिटी ट्याङ्की र एक किलोमिटर पाइपलाइन बिछ्याउने काम सकिसकेको छ।
मुख्य पाइपलाइन बिछ्याउनका लागि उपभोक्ताले श्रमदान गरेर नाली खन्ने काम गरिरहेका छन्। भकुण्डेमा एक लाख लिटर र अर्जममा पचास हजार लिटर क्षमत्ताको रिजर्भ ट्याङ्की निर्माण गर्ने तयारी भएको उपभोक्ता समितिका अध्यक्ष जितबहादुर थापाले बताए।
प्रतिसेकेन्ड १.२ लिटर पानी आपूर्ति हुने आयोजनाबाट सबै घरमा निजी धारा जडान गरेर खानेपानी वितरण गर्ने लक्ष्य रहेको अध्यक्ष थापाले बताए। भकुण्डे र अर्जममा विसं २०३१ सालमा निर्माण भएको आयोजनाबाट खानेपानी आपूर्ति हुँदै आएको छ। पर्याप्त खानेपानी आपूर्ति नहुँदा स्थानीयवासीलाई समस्या भएको छ।
नयाँ आयोजनामा एक घर एक निजी धारा हुने जनाइएको छ। उपभोक्ता समितिले सक्रियता देखाएर समयमै काम हुन सकेमा यस वर्ष सम्पन्न गर्नेगरी थप बजेट माग गर्न सकिने खानेपानी तथा सरसफाइ सवडिभिजन कार्यालयले जनाएको छ। रासस