शब्दकोशबाट निकालेर
कसले ठोकेको हो गोली
प्रेमकविताकी नायिकालाई?
कसले हानेको हो कोर्रा
लोकगीतबाट निकालेर
लोकगीतकै नायकलाई?
कविहरु
सपनाको भाषा खोज्दै
कतै गइरहेका छन्
कसले लुटेका हुन्
सपनाभित्र पसेर जीवनको फूल?
मैतीदेवी नेपालीको
मुखमा खुवाइएको दिशा
संविधानको कुन धाराबाट
निकालिएको लय हो?
मैतीदेवीको ढाड कुप्रिनु
उसका दाँतहरु पहेँलो हुनु
उसको केशमा लट्टा पर्नु
कस्नु पेटमा सर्पको पटुकी
र जित्नु सारा भोकहरुलाई
उसको अपराध होइन।
बोक्सी त यो कानुन हो
जसले टोकेर मार्छ
र औँलामा बत्ती बाल्दै
लखेट्छ हरेक गरीबहरुलाई।
यो देशमा
एउटा नाङ्गो प्रश्न घुमिहिँड्छ
त्यसको हरेक अङ्ग किन छैन सुन्दर?
किन लोभ लाग्दैन
त्यसको कामुक शरीर देखेर
भोकाएका लिङ्गहरुलाई?
कविहरु निर्दयी छन्
प्रिय पाठक!
तपाईं भन्नुस्
कसले खडा गरेको हो
तरवारको पर्खाल
प्रेमको नदी बग्ने मुटुहरुमा?