आज बिहान देशको राजनीतिका भिष्म पितामह मानिने श्री टंकप्रसाद आचार्यज्यु कहाँ पसेको थिएँ। श्री आचार्य आफ्नो नित्य कर्म सकेर मात्र बस्नु भएको रहेछ। म कोठामा पसे। मेरो आवाजले गर्दा आँखाले राम्रो नठम्याए पनि मलाई चिन्ही हाल्नु भयो र बस्न भन्नु भयो।
म बस्न पाएको थिइन, उहाँले प्रश्न गर्न भयो, ‘भारत र नेपालको सम्बन्ध किन यति तनावपूर्ण भएको ?’
मैले बस्दा बस्दै भने, ‘परराष्ट्र नीति निर्धारण गर्नेहरूको बुद्धि छछल्किन थालेकोले।’
श्री आचार्यले, ‘किन, के भयो त्यस्तो?’ भन्ने प्रश्न गर्नु भयो। म चुप लागिरहेँ। किनभने परराष्ट्रको सम्बन्धमा श्री आचार्यलाई थाहा नभएको कमै कुरा छ। ओखलबाट अथवा ढिकीबाट चतुर गृहणीले चामल कुट्दा जसरी आफ्नो हात बचाउँछे, त्यसै गरि श्री आचार्यले २००७ सालमा नेपालमा पसेको हुरीबाट २०१२–२०१३ मा नेपाललाई बचाउनु भएको कुरा आफूलाई थाहा भएको कारण मैले चूप लाग्नु नै उचित ठानेको थिएँ।
तर, श्री आचार्यज्यूले प्रश्न गर्नु भयो, ‘के व्यापार सम्झौतामा हस्ताक्षर नहुने भयो?’
‘गाह्रै छ। उनीहरू नेपाललाई भारतले विशेष सुविधा दिदैँ आएको छ। अब त्यो दिन सकिन्न र नेपालसित पनि भारतले बंगलादेश, पाकिस्तान, श्रीलंकाहरू सितकै जस्तो मात्र सन्धि गर्ने र आजको जस्तो व्यापार र पारवहनको अलग–अलग व्यवस्था पनि नगर्ने भन्न थालेका छन् भन्ने सुनिन्छ। भारतीय पत्रपत्रिकाको अनुसार भारतले अधिकारिक तबरमा श्री ५ को सरकारलाई यी कुरा लिखितमा पठाइ सकेको पनि चर्चा गर्छन्...’ भन्दै थिएँ, श्री आचार्यले थप प्रश्न गर्नुभयो, ‘तपाईको सरकार के भन्छ?’
मैले कुराको बेलीबिस्तार लगानु पर्ने देखेर सुरु गरेँ– ‘झन्डै तीन महिनाअघि व्यापार सन्धिबारे भारतीय पत्रपत्रिकामा छुटपुट आउन थालेका र त्यस्ता समाचारमा नचाँहिदा अर्थात असम्बन्धित कुराहरू जस्तो कि चीनबाट हतियार ल्यायो....अन्तर्राष्ट्रिय फोरममा उसको पछि लागेन...तराई क्षेत्रमा चिनियाँहरूलाई योजनामा काम दियो भन्ने जस्ता कुरा समेत अगाडि आउन थालेका छन्।’
जसको पत्रिका किन्न न्यूरोडमा भीड लाग्थ्यो
मैले नै रुचि लिएर यस सम्बन्धमा श्री ५ को सरकारको सम्बन्धित विभागसित कुरा गर्दा उनीहरूले भने, ‘नेपाल र भारतबीचको व्यापार सन्धिको मस्यौदा स्वीकृत भइसकेको छ, यस पाला भारतले राम्रो भावना देखाएको छ। नेपालले निर्यात गर्ने सामानमा कममा ८० प्रतिशत नेपाली उत्पादनका वस्तु हुनुपर्छ भन्नेलाई अब ७० प्रतिशतमा मानेको छ र यस सन्धिमा हस्ताक्षर गर्न भारतबाट व्यापार मन्त्री काठमाडौं आउदैछन्।’
यस सम्बन्धमा मैले यहाँका भारतीय पत्रकार साथीबाट ठीक विपरीत कुरा सुनेको थिएँ। उनीहरूले भनेको थिए, ‘तिमिहरूको सरकारले सार्क शिखरको समय भारतका उपविदेश मन्त्री आउँदा प्रोटोकलको कुरा गर्यौं। आज हाम्रो सिनियर मिनिष्टर सन्धिमा हस्ताक्षर गर्न आउने बेला एउटा जुनियर मिनिष्टर अघि सार्यौं, किन आउँछ, हाम्रो मिनिष्टर र कसरी हस्ताक्षर हुन्छ सन्धिमा?’
त्यसपछि पनि श्री ५ को सरकारको सम्बन्धित मन्त्रीहरू सचिवहरू सित कुरा भयो। उहाँहरूले सधै सन्धिमा हस्ताक्षर हुन्छ, भारतसित राम्रो सम्बन्ध छ, यी दुई चार दहीचिउरे प्रेसको कुरामा नलाग्नुहोस भन्दै आए।
श्री आचार्यले भन्नुभयो, ‘मणिबाबु। तपाई पनि एउटा सम्पादक हुनाले यो बुझिराख्नु होस् भारतको प्रेस आफ्नो घरेलु मामिलामा दहीचिउरे काम गर्लान? परराष्ट्रमा अथवा भारतको अर्को राष्ट्रसितको सम्बन्धमा उनीहरू तपाईको देशको प्रेस जस्तो हुँदैनन। तपाईहरू विदेशीलाई उठाएर मौका पर्यो भने आफ्नालाई होच्याउनु हुन्छ, भारतको प्रेसमा त्यो पाइन्न। भारतमा यस्ता कुरामा पहिले प्रेस मार्फत नै जन–भावना बनाउने कुरा भैसकेको हुन्छ। यो नबिर्सनुहोस्....’ भन्दाभन्दै उहाँले कुरा अर्कोतिर मोड्नुभयो र भन्नुभयो, ‘भैगो छोडदिनुहोस् उनीहरूको कुरा, तपाईले के लेख्नु भयो?’
मैले भने, मैले जे लेखे र लेख्दैछु आफूलाई नियन्त्रण गरेर लेख्दै छु किनभने के लेख्दा के पर्ने हो थाहा छैन। वास्तवमा भै के रहेको छ हाम्रा कुनै अधिकारी पनि त्यो हामीलाई बताउँदैनन्। कुनै कुरा सोध्न फोन गर्यो, मन्त्रीदेखि सचिसम्म बाह्रै घण्टा मिटिङमा हुन्छन। उनीहरू कसैलाई फुर्सत हुन्न। अनि लेख्ने के? यहाँ सम्म कि भारतीय प्रेसले केही लेखे भने त्यो दिनको पत्रिका नै बन्द गरिदिने चलनले त्यसको जवाफ दिन सकिन्न। चुहीछिरी कतैबाट पाएर जवाफ दिउँ भनेपनि एकोहोरो हुन्छ, जनता समक्ष जाँदै नगएको कुरामा के जवाफ दिउँ।
फेरि दिइहालुँ ‘तैले कताबाट पाइस्? अथवा जनतामा बयान गरेको पत्रिकाको समाचार किन दोहोर्याएर तलाई जवाफ दिनु पर्यो?’ भन्ने जस्ता कुरा उठ्ने र आफू नकरा हुने हुँदा कताकता धोबीको कुकुर र गधा सम्बन्धी पञ्चतन्त्रको कथा सम्झिन्छु र मौन नै रहनु उचित ठान्दछु। तर, मनले जब मान्दैन, केही लेख्नै पर्ने ठान्दछु त्यति बेला उनीहरूले बताएकै आधारमा मात्र हल्का फुल्का लेख्दछु।
उहाँ अलि गम्भीर हुनु भयो। र भन्नु भयो, स्थिति कस्तो भयो, हेर्नुस त। तर, मणिबाबु। तपाईलाई धेरै कुरा थाहा छ। तपाईले ‘समाज’ (पत्रिका) मा लेखेको धेरै कुरा म सम्झन्छु। फेरि म प्रधानमन्त्री छँदाको शायदै कुनै कुरा तपाईबाट लुकेको छ, तपाईले लेख्न खोज्नु भो भने धेरै लेख्न सक्नु हुन्छ।
मैले भने, त्यो सक्छु। वास्तवमा नेपाललाई भारतले बढी सुधिा दिएको छ अथवा नेपाल–भारत सम्बन्धमा भारतले नेपालबाट बढी सुविधा पाएको छ भन्ने कुरा म हातका औँलाहरू भाँचीभाँची गनाउन सक्छु। त्यति मात्र होइन तपाईसित, तपाई भूतपूर्व भैसकेपछि पनि सन् १९६३ मा त्यति बेलाका भारतीय राजदुत भगान सहायले भारत–चीनबीच संघर्ष पर्ने बित्तिकै कुरा गर्न आउँदा तपाईले ‘तपाई के चाहनु हुन्छ, संघर्षमा हामीले भाग लिने?’ भन्दा उहाँले हत्तपत्त ‘हैन हैन, भूलले पनि यस संघर्षमा नेपालीले हाम्रो समर्थन नगरुन यो ५ सय माइलको सीमा यसै भयो भने मात्र सुरक्षित रहनेछ,’ भन्दै पनि थिएँ।
तर, अहिले भारतीयहरू ‘भारत–चीन युद्धमा नेपालले भारतको साथ दिएन’ भनेर उड्कन्छन।
यस्ता कुराको जवाफ हिसाब लगाएर दिन सक्छु, गण्डक नहर नै हेर्नुहोस। त्यहाँ पुग्नु भएकोछ कि छैन? त्यो अथाह पानीले नेपाललाई पिठ्युँ फर्काएर गएको........त्यो नेपालले दिएको विशेष सुविधा हो कि हैन। अरु कुरा छोड्ँनुस, नेपालको हजारौं विद्या जमीन काटेर कोशी पश्चिमी क्यानल जुन बनेको छ, त्यसबाट एक धुर पनि नेपालको भुमि सिचिन्छ? तपाईलाई थाहा छ? फेरि त्यो के विशेष सुविधा हैन? मलाई त थाहा छैन। श्री ५ को सरकार मलाई यस सम्बन्धमा प्रश्न गर्दा बताउन चाहँदैन। त्यसैले म लेख्न पनि सकिरहेको छैन। त्यसै लेखुँ अँध्यारोमा बन्दुक पड्काउनेको सिको हुन्छ। नत्र एउटै कुरा भन्नुत, एउटा मित्रराष्ट्रको कम्पनीले अन्तर्राष्ट्रिय लिलाममा पाएको कुरा समेत हामीले फर्काएर भारतको कम्पनीलाई दिन कुन सुविधा अन्तर्गत पर्छ भन्ने प्रश्न म पनि त गर्न सक्ने थिएँ।
म त्यति भनेर चुप लागेपछि श्री आचार्यले भन्नुभयो, ‘हेर्नुहोस। भारत धेरै अर्घेलो गर्छ। मलाई थाहा छ, मैले त भोगेकै छु। तर हामीले पनि त्यही गर्यौ भने हामी पनि त उस्तै भयौं। त्यसमाथि उसको विशाल जनता। ठूलो देश। त्यस्तै प्रचार। के मा बराबरी गर्ने हामीले? आफ्नै नैतिक बलको लागि पनि उसले गर्यो भन्दैमा जेपायो गर्नु हुँदैन्। आफ्नो राष्ट्रिय स्वतन्त्रता बचाउने र नेपालीको हित गर्ने कुरामा हाम्रो बल नै हाम्रो नैतिकता र हाम्रो इमान हो। तपाईले सुन्नु भएको रहेछ चीन र भारत झगडाको कुरा, थाहा छ तपाईलाई त्यतिबेला नेहरु र अन्य राजनेताहरू जति थिए ती सबै चीनसितको झगडाको विरूद्ध थिएँ तर पनि त्यहाँको नोकरशाहीले भारतलाई लगेर चीनसित जुधाई छाड्यो।
हुन त त्यसको फल पनि पायो। बदनाम भए राजनेताहरू। त्यतिबेला नेहरु जस्ताको समयमा पनि त्यहाँ नोकरशाही त्यति बलियो थियो भने अहिले त्यो बेलाका बुझ्ने र धैर्यले सोच्ने नेताहरू छैनन्। राजनेता कहलाउनेहरू अब ती नोकरशाहीको अगाडि ज्यादै कमजोर भैसकेको छन्। त्यसैले स्थिति म पनि स्पष्ट देख्दिन। आज आफूले बेहोरेको भारतको नेतृत्व भएको भए भन्न सकिने थियो। त्यतिबेलाका नेताहरू दाउपेचमा पर्न दिदैनन्थे र सामान्य सम्बन्ध बिगार्दैन्थे। चाहे जस्तो परिस्थित पनि होस। तर, अहिलेको अवस्थामा जस्तो उता छ, त्यस्तै यता पनि ज्यादा अहम् र मै जान्ने भन्ने भावना देख्दा र जनताको भावनामा हर समय हर परस्थितिमा आघात नै पुर्याउने पञ्च नेताहरू भएकोले स्थिति अन्योल नै देख्छु।
अन्त्यमा, हामीमा पनि धेरै अहम् छ भनिएको सम्बन्धमा मैले प्रश्न गर्न मन लागेर प्रश्न गर्दा श्री आचार्यले भन्नु भयो, अँ, तपाईलाई भन्नै बिर्सिएछु, सुन्नुहोस, अहम कति बढिसकेको छ। गएको फागुनको २९ गते दिउँसो म यसै लम्पटमा बसिरहेको थिएँ। एक व्यक्तिसरासर आयो र सोझै ती त्यही मेरो, बस्ने सानो टेबुल अगाडिको मेचमा बसे। मेरो आँखा ठम्याउन सक्दैन, तपाईलाई थाहै छ। सोझै आएर मेरो आसनमा बसेको देख्दा छक्क पो लाग्यो र सोधे?
‘म काठमाडौंको सिडिअो’ भनेर उनले आफ्नो परिचय दिए। यो परिचयले मेरो रक्तचाप सोझै उक्ल्यो र मैले भने यहाँ सिडियोको काम छैन, तपाई ओर्लनुस मेरो आसनबाट। यही हो सिडियोको सोमत? मेच खोजेर बस्ने बानी लागेको भए अर्को मेचमा बस्नुस, छोड्नुस त्यो मेच।
यति भनेपछि उनी मेच छोडेर मनिरको चकटीमा आउदै यही हुन्छ हजुर, मेच चाहिन्न भनेर बसे। भन्नु त यो आफै मपाईको प्रदर्शन हो कि हैन। फेरि आएका– मलाई विश्वविद्यालयमा छात्रहरूलाई सम्बोधन गर्न नजा भन्न रे। आश्चर्य! मैले भने मैले जान्छु भनेको छु, जाने काम मेरो, तपाई प्रशासक, तपाईले गर्नु पर्ने के हो त्यो काम तपाईको। तपाई उठेर जानुस। त्यसपछि उनी उठेर गए। यो कम अहम्को प्रदर्शन थियो त? सिडियोको ताउ, यस्तो छ भने अरुको ताउ तपाई नै सोच्नुस्?’
(बुधबार ९४ वर्षको उमेरमा मृत्युवरण गरेका पत्रकार मणिराज उपाध्यायले २०४५ साल चैत १० गते नेपालका पूर्व प्रधानमन्त्री टंकप्रसाद आचार्यसँग गरेको कुराकानी। जुन उनको पुस्तक ‘श्री आचार्यसितको केही क्षण’ मा प्रकाशित गरेका थिए।)
भारत र चीनबीच बिग्रिएको सम्बन्ध सुधारका लागि तत्कालिन भारतीय राजदूत राजबहादुरको आग्रहमा नेपालका पूर्व प्रधानमन्त्री टंकप्रसाद आचार्यले तत्कालिन चिनियाँ प्रधानमन्त्री चाउएनलाई लाई पत्र लेखेका थिए। जुन पत्र यस प्रकार थियो।