तस्बिरहरूः नारायण महर्जन/सेतोपाटी
राजधानीमा दिनानुदिन बढ्दै गएको ट्राफिक अस्तव्यस्ततालाई निराकरणका लागि ट्राफिक प्रहरीले अब ड्रोन क्यामेरा चलाउने भएको छ।
एनएमबी बैंकको सहयोगको ट्राफिक प्रहरीले उक्त ड्रोन उडाउन लागेको हो। राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रममाझ एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले ट्राफिक प्रहरी प्रमुख डिआइजी प्रकाश आर्याललाई ड्रोन क्यामेरा हस्तान्तरण गरेका हुन्।
ट्राफिक व्यवस्थापनका लागि सबै निकाय एक भएर लाग्नुपर्ने भन्दै पौडेलले आफूले सकेजति सहयोग गर्न सबैमा अनुरोध गरेका छन्।
ड्रोन क्यामेरा हस्तान्तरणपछि बोल्दै पौडेलले भने,‘हामीले पनि ट्राफिक व्यवस्थापनमा सकेजति सहयोग गर्नुपर्छ। यो हाम्रो पनि अधिकार हो। यो सुरूआत हो। पछाडि अरू पनि सहयोग गर्नेछौ,’ उनले भने,‘ अरूल पनि सहयोग गर्नुपर्छ।’
अब ट्राफिक नियन्त्रण पनि प्रविधिमैत्रीमा अगाडि बढेको भन्दै ट्राफिक प्रहरी प्रमुख अर्यालले भने ‘हात हल्लाएर मात्र हुन्न नयाँ नयाँ प्रविधिको विकाससँगै त्यसमा अभ्यस्त पनि हुनुपर्यो,’ उनले भने,’ नेपाल ट्राफिक प्रहरीको इतिहासमा यो पहिलो ड्रोन क्यामेरा हो। यसले निश्चयनै ट्राफिक नियन्त्रणमा सहयोग पुर्याउँछ।’
ट्राफिक समस्या जहाँ छ त्यहाँ ड्रोन उड्ने भन्दै अर्यालले भने,‘ जहाँ सबैभन्दा बढी ट्राफिक समस्या छ, त्यसको अवस्था र वास्तविकता बुझ्न यसले सघाउ पुर्याउँछ।’
कुनै ठाउँमा दुर्घटना भयो, सडक धेरै समयदेखि जाम भइरहेको छ तर कारण पत्ता लागिरहेको छैन भने यस्तो अवस्थामा ड्रोन उडाएर समस्या पत्ता लगाउन र जाम नियन्त्रण गर्न सघाउ पुग्ने दाबी ट्राफिक प्रहरीले गरेको छ।
२ लाख ५० हजार मूल्य बराबरको ड्रोन क्यामेरा ट्राफिक प्रहरीलाई हस्तान्तरण गरेको हो।