१५ औं संस्करणको आहा! रारा गोल्ड कप फुटबल प्रतियोगितामा तीन विदेशीसहित १२ टिमको सहभागिता हुने भएको छ।
सहारा क्लबको आयोजनामा माघ ४ गतेबाट १५ गतेसम्म पोखरा रंगशालामा संञ्चालन हुने प्रतियोगितामा अमेरीका, बंगलादेश र भारतका तीन टिम र नेपालको ९ टिमको सहभागिता रहने सहारा क्लबले जनाएको छ।
प्रतियोगितामा लक्ष्मी हुण्डाई मनाङ मस्र्याङ्गदी क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल ए पि एफ कलब, नेपाल पुलिस क्लब, सि एम जि संकटा क्लब, धरान फुटबल क्लब, सुदूरपश्चिम–११ स्पोर्टिङ क्लब धनगढी, रमपम झापा–११ फुटबल क्लब, फ्राशगञ्ज एस सि, बंगलादेश , ए एन ए यू एस ए फुटबल टिम अमेरीका, युनाईटेड सिक्किम फुटबल क्लब भारत र आयोजक सहारा क्लबले सहभागीता जनाउने क्लवका अध्यक्ष विरभद्र आचार्यले बताए।
उनले भने, ‘प्रतियोगितामा सहभागि हुने टिममा नेपाली क्लब मात्र नभई पूर्वपश्चिमदेखि भारत, बंगलादेश हुँदै अमेरिकासम्मको टिमलाई सहभागि गराउदैछौं, यस वर्ष फुटबल प्रेमिहरूलाई थप रौनक हुने हामीले अपेक्षा गरेका छौं।’
केही दिन पछि खेल तालिका सार्वजनीक गरीने अध्यक्ष आचार्यले जानकारी गराउँदै प्रचार प्रसारका लागि माघ एक गते साईकल सिटी पोखरा र साईकिलिङ संघ, कास्कीको विशेष सहयोगमा पोखरा क्षेत्रमा साईकल र्याली हुने बताए। त्यसैगरी आन्तरिक रूपमा खेल मैदान मर्मत संहार तथा रंग रोगन लगायतको तयारी अन्तिम चरणमा पुगेको महासचिव केशवराज बरालले बताए।
‘खेलकूदको विकासमा सहकार्य गरौं पोखरालाई खेलकुद पर्यटन शहरको रुपमा स्थापित गरौं’, भन्ने नारासहित आयोजना हुने उक्त प्रतियोगितालाई हिमश्री फुडस प्रा.लि.को उत्पादन आहा तथा रारा चाउचाउको मुख्य प्रायोजन, माईक्रो म्याक्स मोबाईलको उप–प्रायोजन रहेको छ।
प्रतियोगिताबाट बचत हुन आउने रकम क्लबद्धारा सञ्चालित कठिन परिस्थिति एवंम विपन्न वर्गका बालकहरु सम्मिलित १६ जिल्लाका २८ जना बालकलाई निःशुल्क शिक्षा दिक्षा, स्वास्थ्य, फुटबल प्रशिक्षण लगायत भरणपोषणमा खर्च गरिने बरालले जनाए।