स्व बिमल सिंह बुढाथोकीको स्मृतिमा यहाँ सञ्चालित भलिबल तथा सांस्कृतिक कार्यक्रम बुधबार समापन भएको छ।
जिल्लाकै सर्वाधिक पुरस्कार राशिको खुल्ला भलिबल प्रतियोगिताको उपाधि नेपाली सेनाको दुर्गादल गुल्मले हात पारेको छ। स्थानीय भगवती युवा क्बल सर्मोलीलाई ३–० को सोझो सेटमा हराउँदै सेनाले उक्त उपाधिमाथि कब्जा गर्न सफल भएको हो।
स्व बिमल स्मृति आयोजक समिति, राप्लाको आयोजनामा गत शनिबारदेखि सुरु उक्त प्रतियोगितामा सर्मोली सेना सामु २५–२०, २५–१४ र २५–१८ फराकिलो अङ्कको अन्तरमा पराजित हुँदा द्वितीयमा चित्त बुझाउनु परेको थियो। सेनाले उपाधि कब्जासँगै ५१ हजार नगद, मेडल, प्रमाणपत्र र ट्रफी हात पार्न सफल भएको छ। द्वितीय भगवती युवा क्लब, सर्मोलीले २५ हजार नगद, मेडल, प्रमाणपत्र र ट्रफी पाएको छ।
त्यस्तै, नेपाल प्रहरी र सामुदायिक ग्रामीण विकास समाज (सिआरडिएस) नेपाल तृतीय भएका छन्। तृतीय दुवै टोलीले समान ११ हजार नगद, मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गरेका छन्। आयोजक समितिले प्रतियोगितामा सहभागी सबै टोलीलाई मायाको चिनोसमेत प्रदान गरेको छ।
त्यसैगरी, यहाँ मात्र बसोबास रहेको आदिवासी जनजाति रङ (शौका) समुदायबीच भएको नृत्य प्रतियोगितामा सर्वहित मावि दुम्लिङ प्रथम, भारतको महिला मङ्गल दल डोङकाङ द्वितीय र तिङ्कर युवा क्लब तृतीय भएको स्व बिमल स्मृति भलिबल तथा सांस्कृतिक कार्यक्रम आयोजक समिति, राप्लाका संयोजक धिरनसिँह बुढाथोकीले जानकारी दिए।
नृत्य प्रतियोगितामा नेपाल र भारतका कुल सात टोलीको सहभागिता थियो। प्रतियोगिताका विजयीलाई क्रमशः प्रथमलाई १५ हजार, द्वितीयलाई १० हजार र तृतीयलाई नगद पाँच हजार, ट्रफी र मायाको चिनो प्रदान गरेको आयोजकले जानकारी दिए।
राप्ला गाविसमा स्थायी घर भएका बुढाथोकी भलिबल खेलाडी भएकाले उनको सम्झनामा उक्त प्रतियोगिता सञ्चालन गरिएको आयोजक समिति राप्लाका संयोजक बुढाथोकीले बताए। उक्त प्रतियोगितामा दुई भारत, तीन विभागीयसहित २६ टोलीको सहभागिता रहेको थियो। बुढाथोकीको गत वर्षको कात्तिक २४ गते अपी नगरपालिकाको धापमा जिप दुर्घटनामा मृत्यु भएको थियो।
सांस्कृतिक कार्यक्रममा यहाँका स्थानीय कला झल्कने नृत्य, देउडा गीत, शौका समुदायको आफ्नै भाषाका गीत गाइने आयोजक समितिका संयोजक बुढाथोकीको भनाइ छ। यो प्रतियोगिताले नेपाल र भारत बीचको मैत्रीपूर्ण सम्बन्ध र परम्परालाई सम्झाएको छ। रासस
––––––