१२ औं ढोरपाटन डबल लिग महिला भलिबल प्रतियोगितामा न्यु डायमन्ड एकेडेमीले एकल अग्रता बनाएको छ। बालाजु नयाँ बस पार्कस्थित नवनिर्मित कोटमा बुधबार सम्पन्न खेलमा रामेछापको चन्डेश्वरी युवा क्लवलाई तीन सेटको सोझो सेटमा पराजित गर्दै न्यु डायमन्डले एकल अग्रता बनाएको हो।
चन्डेश्वरीलाई २५–९, २५–११ र २५–८ को सोझो सेटमा पराजित गरेको न्यु डायमन्डले ५ खेलबाट १५ अंक जोड्न सफल भएको छ। बुधबार नै सम्पन्न अन्य खेलमा रिड मोडल कलेज र नेपाल पुलिसले पनि सफलता हात पारेका छन्। स्वयम्भू ठूलो भर्याङस्थित रिड मोडल कलेजले नैकापको न्यु डायमन्ड स्पोर्ट्स क्लवलाई ३–० को सोझो सेटमा पराजित गर्यो।
भारतीय राष्ट्रिय खेलाडीको बर्चश्व रहेको रिड मोडलले न्यु डायमन्ड स्पोर्ट्स क्लवलाई २५–१४, २५–६ र २६–१२ को सेटमा पराजित गर्दै ३ अंक जोड्न सफल भएको छ।
त्यसैगरी बुधबार भएको अन्तिम खेलमा नेपाल पुलिसले पश्चिमाञ्चल क्षेत्री भलिबल संघलाई ३–१ को सेटमा पराजित गरेको छ। प्रतियोगितामा अहिलेसम्म ४ खेल खेलेको सशस्त्र प्रहरीको एपीएफ क्लव चारै खेलमा अपराजित रहँदै १२ अंकका साथ दोस्रो स्थान ओगट्न सफल भयो।
त्यस्तै तेस्रो स्थानमा नेपाल आर्मीले ४ खेलबाट १२ अंक जोडेको छ भने अर्को विभागीय टोली नेपाल पुलिसले ६ खेलबाट १२ अंक जोड्न सफल भएको छ।
त्यसैगरी आयोजक ढोरपाटन स्पोर्टस् क्लवले ५ खेलबाट ८ अंक जोडेको छ। रामेछापको चन्डेश्वरी युवा क्लवले ६ खेलबाट ७ अंक नै जोडेको छ।
पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघले ३ खेलबाट ३ अंक नै जोड्न सफल भएको छ भने बिजेश्वरी ज्ञान मन्दिर र न्यु डायमन्ड स्पोर्टस् क्लवले खाता खोल्न सकेका छैनन्।