पूर्वाञ्चलको १२ जिल्लामा पेट्रोलियम पदार्थको बिक्री वितरण गर्ने जिम्मेवारी पाएको नेपाल आयल निगम क्षेत्रीय कार्यालय विराटनगरका प्रमुखको पटक पटक सरुवा हुँदा त्यहाँ कामकाज प्रभावित हुने गरेको छ।
विगत एक दशकदेखि एक वर्ष बित्न नपाउँदै अधिकांश कार्यालय प्रमुखको सरुवा हुँदै आएको छ। यसरी तोकिएको समयभन्दा अगाडि नै कार्यालय प्रमुखको सरुवा हुँदा कामकाज प्रभावित हुने गरेको त्यहाँका कर्मचारी तथा पेट्रोलियम व्यवसायीको गुनासो छ।
दैनिक तीन लाख लिटर पेट्रोल तथा सात लाख लिटर डिजेल बिक्री वितरण गर्ने सो कार्यालयमा एक दशकमा आधा दर्जन बढी प्रमुखको सरुवा भइसकेको छ । कार्यालयका अनुसार अहिलेसम्म दुई वर्ष नपुग्दै जगन्नाथ घिमिरे, भुवन रेग्मी, वीरेन्द्र गोइत, पुष्कर दत्त, सीताराम पोखरेललगायत प्रमुखको तोकिएको समयभन्दा अगाडि नै सरुवा भएको छ ।
सरकार परिवर्तनसँगै कार्यालय प्रमुखको सरुवा गर्ने प्रचलनका कारण आयल निगम पूर्वाञ्चल क्षेत्रीय कार्यालयको व्यवस्थापन चुस्त दुरुस्त हुन नसकेको लहानका पम्प व्यवसायी रामचरित्र भगतले बताए।
प्रमुखको सरुवा मात्र हुने तर कार्यालय सहायकको सरुवा नहुने तथा वर्षौंदेखि एकैठाउँ बस्ने परिपाटीले विभिन्न प्रशासनिक तथा प्राविधिक समस्या हुने गरेको ट्याङ्कर ढुवानी सङ्घका पदाधिकारीसमेत बताउँछन् ।
हाल त्यहाँ कार्यालय परिसरमा रु एक करोड ६० लाखको लागतमा ट्याङ्कर पार्किङ, शौचालय, चालक विश्रामस्थल, पेट्रोलियम पदार्थ भण्डारण तथा वितरण गर्ने स्थलमा पक्की नाला र ग्राभेल गर्ने कार्य भइरहेको छ । आयल निगमको विनियममा सरुवा भएर गएका प्रमुखलाई दुई वर्ष बस्नुपर्ने प्रावधान छ । रासस