धार्मिक क्षेत्र मुक्तिनाथ पदमार्गको प्रवेशद्वारको रुपमा रहेको पोखराको सिमलचौरमा तेस्रो माघेसङक्रान्ति महोत्सव हुने भएको छ ।
ऐतिहासिकताको प्रचार र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले यही पुस २९ र माघ १ गते महोत्सव गर्न लागिको प्रचारप्रसार उपसमितिका संयोजक बोधराज ढकालले जानकारी दिए।
पोखराको सिर्जना चोकदेखि आलुमाइला चोकसम्मको लगभग ४०० मिटर सडकमा कन्दमूल, खिचडीलगायत विभिन्न खानाका परिकारका ५० भन्दा बढी कक्ष रहने छन् । महोत्सवमा आउने दर्शकलाई जाल्पादेवी मन्दिरको दर्शन तथा स्वस्थानी व्रतकथा श्रवणको समेत व्यवस्था गरिएको छ ।
प्राचीनकालमा पूर्खाले बाटोभरी ढुङ्गा बिच्छ्याएर मुक्तिनाथ जाने तीर्थयात्रीलाई स्वागत गर्ने गरेको सिमलचौरस्थित ढुङ्गे सडक हाल कालोपत्रे गरिएको छ। यस ऐतिहासिक प्राचीन महत्वको स्थललाई पछिल्लो पुस्ता माझ जानकारी गराउन पनि महोत्सव उपयोगी बन्ने ढकाल बताउँछन्। उक्त क्षेत्रमा गणेश, शिव, भिमसेनस्थान र भैरव मन्दिर छन्।
महोत्सवमा कुमारी नाच, गाईजात्रा, लाखेनाथलगायतका विभिन्न लोपउन्मुख नृत्य प्रस्तुत गरिनेछ । महोत्सव आयोजना गर्न करिब पाँच लाख ६० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । रासस