गत पुस १७ गतेदेखि चरणबद्ध आन्दोलनमा उत्रेका पर्साका हेल्थ असिष्टेन्टहरुमाथि आज पर्सा प्रहरीले हस्तक्षेप गरेको छ। जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख राजकिशोर पण्डीतको कार्यकक्षमै धर्ना दिइरहेका आन्दोलनकारीलाई प्रहरीले हस्तक्षेप गरी हटाएको हो।
वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक ऋषिराज ढुङ्गनाको नेतृत्वमा गएको टोलीले आन्दोलनकारीलाई हटाउने क्रममा केही बेर कार्यालयमा तनाव उत्पन्न भएको थियो।
कार्यालय प्रमुख राजकिशोर पण्डीतलाई बाहिर निकालेसँगै प्रहरीले आन्दोलनकारीलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय, पर्सा लगेको थियो। करिब ३ घण्टापछि उनीहरुलाई प्रहरीले छोडेको हेल्थ असिष्टेन्ट संघ पर्साका अध्यक्ष रवीन्द्र साहले बताए। माग पूरा नभएसम्म आन्दोलन जारी रहने र भोलिदेखि कडा रुपमा अघि बढ्ने साहले बताए।