धनगढी उपमहानगरपालिका–१९ स्थित नेपाल–भारत सीमाबाट नौ किलो चरेससहित दुईजनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ।
सीमापारि जाँदै गरेका बाजुरा मानाकोट गाविसका दिनेश रोकाया र दहकोट गाविसका विवेक बोहराको साथबाट उक्त परिमाणको चरेश बरामद गरिएको कैलाली जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
उनीहरुको साथमा रहेको झोला तलासी गर्दा चरेस फेला परेको हो। पक्राउ परेका रोकाया यसअघि पनि चरेश मुद्दामा फरारको सूचीमा थिए। उनीहरुमाथि अनुसन्धान थालिएको छ ।
यसैगरी चोरी भएका दुई मोटरसाइकलसहित तीनजनालाई पक्राउ गरिएको छ । धनगढी उपमहागरपालिका–१०का मनिस चौधरी, राज चौधरी र रामजित चौधरीलाई विभिन्न मितिमा चोरी भएको से२प ६१३६ र से२प ८५०३ नंको मोटरसाइकलसहित पक्राउ गरिएको थियो। रासस