मोरङको टाँडी–२ मा अवस्थित निसेलुङ डाँडालाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न स्थानीयहरु एकजुट भएका छन्।
निसेलुङ पर्यटकीय क्षेत्र संरक्षण समितिका अध्यक्ष खगेन्द्र मादेन लिम्बूका अनुसार निसेलुङ डाँडामा पहिलो चरणमा ५० मिटर अग्लो भ्यु टावर बनाउने तयारी गरिएको छ।
निर्वाचन क्षेत्र विकास कार्यक्रमअन्तर्गत सांसद डिगबहादुर लिम्बूले १० लाख र गाविसबाट दुई लाख रुपैयाँ विनियोजन गरिएको छ। त्यही बजेटका भरमा भ्यु टावर निर्माण शुरु गरिएको हो।
टावर निर्माणका लागि बहुवर्षे योजना बनाएर पर्यटकीय केन्द्र निर्माणको काम सुरु गरिएको निसेलुङ पर्यटकीय क्षेत्र संरक्षण समितिका अध्यक्ष लिम्बूको भनाइ छ।
मादेनका अनुसार आन्तरिक पर्यटक भित्र्याउनका लागि योजना बनाएर काम थालिएको हो। उर्लाबारीदेखि सात किलोमिटर उत्तरमा अवस्थित टाँडी चोकदेखि एक किलोमिटर उत्तर हुँदै निसेलुङ डाँडामा पुग्न सकिन्छ।
निसेलुङ डाँडाबाट तराईका समथल भूभागका अलावा मधुमल्ला, उर्लाबारी, दमक चोक अवलोकन गर्न सकिन्छ। त्यसबाट पर्यटक आकर्षित गर्न सकिने विश्वास स्थानीय अर्जुनसिंह लिङदेनको भनाइ छ।
“निसेलुङ’ शब्द लिम्बू भाषाको हो। लिम्बू भाषामा निसेलुङ भन्नाले राम्रो अर्थात ‘कोसेढुङ्गा’ भन्ने हुन्छ। अध्यक्ष लिम्बूका अनुसार डेढ दशकअघि स्थानीयले यसलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने योजना बनाएका थिए । रासस