निजी क्षेत्रले लामो समयदेखि प्रयास गर्दासमेत ललितपुर ‘हस्तकलाको जिल्ला’ घोषणा हुन सकेको छैन।
तीन वर्षदेखि हस्तकलाको जिल्ला घोषणा गर्न माग गर्दैआएको ललितपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष रवीन्द्र ताम्राकारले बताए। एक जिल्ला एक उत्पादनअन्तर्गत सो माग गरिएको उनको भनाइ छ।
“उद्योग मन्त्रालय यसमा सकारात्मक भए पनि बजेट निकासा गरेको छैन,” उनले भने। हस्तकलाको जिल्ला घोषणा हुँदा औद्योगिक क्षेत्र मात्रै नभएर सिङ्गो जिल्लाको विकासमा सहयोग पुग्ने ताम्राकारको भनाइ छ।
हस्तकलामा धेरै नागरिक संलग्न भए पनि यसको व्यवसायीकरण हुन सकेको छैन। उनी भन्छन् – “हस्तकलामा संलग्न धेरै व्यवसायीभन्दा पनि कामदार मात्रै भएका छन्।” हस्तकलाको जिल्ला बनाउन सकिएमा कालीगढले आफैँ फाइदा लिन सक्ने ताम्राकारको भनाइ छ।
जिल्लामा हस्तकला परम्परागत पेसाका रुपमा रहेको छ। यहाँका धेरै व्यवसायीले पुख्र्यौली पेसालाई निरन्तरता दिइरहेका छन् नगरका भित्री भाग र अन्य टोल टोलमा धातुकला, काष्ठकलालगायत काम हुने गरेको छ। नेपाल हस्तकला महासङ्घले हस्तकलालाई ४२ प्रकारमा विभाजन गरेको छ। तीमध्ये अधिकांश प्रकारका हस्तकला ललितपुरमा पाइन्छन्। रासस