लेखनाथ नगरपालिकाको वेगनासतालस्थित मन्दरे पार्कमा फागुनको दोस्रो हप्तामा तेस्रो वेगनास माछा महोत्सव हुने भएको छ।
‘वेगनास जाऔँ, माछाका परिकारमा रमाऔँ’ भन्ने मूल नाराका साथ आयोजना गरिने सो महोत्सव फागुन १३ देखि १७ गतेसम्म हुनेछ। होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथको आयोजनामा हुने सो महोत्सवमा त्यस ठाउँमा रहेका दिपाङ, वेगनास र रुपातालमा पाइने २३ थरिका माछाका परिकार बनाएर पर्यटकलाई खुवाउनाका साथै ती सबै जातका जीवित माछाको प्रदर्शनीसमेत गरिने एसोसिएसनका अध्यक्ष दामोदरभक्त थापाले जानकारी दिए।
यस क्षेत्रमा पाइने माछा, मह, कफी, जडीबुटी र पर्यटकीयस्थलको प्रचारप्रसार तथा स्थानीय माछाको संरक्षण एवम् आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने महोत्सवको मुख्य उद्देश्य छ।
महोत्सवमा महिला तथा पुरुष खुल्ला डुङ्गा दौड, माछा तथा खानाका कष, माछा र मह तथा कफी एवम् जडीबुटीको प्रदर्शनी, पप कन्सर्ट, लोक दोहोरी र स्थानीय सांस्कृतिक कार्यक्रम पनि गरिनेछ। रासस