सराङकोटमा बाल सुधार गृह छ। कानुनद्वारा दण्डित हुने गल्ती गरेका तर १६ वर्ष उमेर नपुगेका र अदालतबाट सजायको फैसला सुनाइएका बन्दी सुधार गृहमा राखिन्छ। तर त्यहाँ भएकामध्ये ७० प्रतिशत १६ वर्ष काटिसकेका छन्।
सराङकोटको बाल सुधार गृहबाट लेकसाइड क्षेत्र प्रस्ट देखिन्छ। अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्या (न्यु इयर इभ) को दिन लेकसाइडमा निकै रमाइलो हुन्छ भन्ने त्यहाँका बन्दी ‘क्याप्टेन’लाई थाहा थियो। कारागारमा ‘नाइके’ भने जस्तै बाल सुधार गृहमा ‘क्याप्टेन’ हुन्छ।
पुस १६ गते राति सुधार गृहका ३ क्याप्टेन बाहिर निस्कने योजना बनाए। क्याप्टेनलाई प्रशासन र सुरक्षाकर्मीले विश्वास गर्नु स्वभाविकै थियो। त्यही विश्वासको फाइदा उठाउँदै बाल बन्दी बस्ने ब्यारेकको चाबी ३ जनाले हात पारे। चाबीको एउटा झुत्तो सुरक्षाकर्मीसँग हुन्छ भने अर्को प्रशासनसँग। उनीहरुले त्यस दिन दिउँसो प्रशासनभित्र घर्रामा राखेको चाबीको झुत्तो निकाल्न सफल भए।
राति सामान्यतया ६ बजे सबै बाल बन्दी खाना खाएर ब्यारेकमा सुत्ने गर्छन्। जाडोको बेला भएको हुनाले बेलुका ७ बजेतिर बाल बन्दीलाई तातो पानी लगिने गरिन्छ। त्यसपछि न कोही बाहिर निस्कन पाउँछन् न त भित्र जान नै। तर त्यस रात ३ ‘क्याप्टेन’ प्रशासनबाट निकालेको चाबीले च्यानल गेट खोलेर बाहिर निक्लिए।
उनीहरु बाहिर बसेर मदिरासँगै लेकसाइडको आतिशबाजी हेर्दै रमाए। त्यसपछि उनीहरु बन्दी कक्षमा नगइ भान्सामा सुते। आइतबार बिहान ड्युटीमा खटिएका एक सुरक्षाकर्मीले उनीहरुलाई भान्सामा देखेपछि कमान्डर असई समशेर गैरेलाई खबर गरे।
त्यसपछि लापरबाही भएको भन्दै सुधार गृह प्रशासन, सुरक्षाकर्मी र क्याप्टेनबीच बैठक बस्यो। अनुशासन पालना गराउनेले नै नियम उलंघन गर्ने भनेर बैठकमा मुख्य ‘क्याप्टेन’लाई कराउन थाले। रिसले चूर क्याप्टेन बैठक छाडेर निस्किए। ती तीनै जना क्याप्टेन १६ वर्ष भन्दा माथिका थिए। गल्ती नै गरेपछि कास्की कारागार सार्नुपर्छ कि भन्ने कुरा पनि उठे। गल्ती गर्ने क्याप्टेनका अभिभावकलाई सुधार गृह प्रशासनले फोनबाट जानकारी दिएको थियो।
यस्तो कुराले ३ जना क्याप्टेनलाई नै तनाव बनायो। त्यसैमाथि विगतमा पनि केही कुरा चित्त नबुझेको हुनाले क्याप्टेन मध्येका पनि मुख्यले मनमा अमिलो पालेका थिए। उनले केही महिनाअघि बन्दीमा बाहिरबाट कलाकार बोलाएर सांस्कृतिक कार्यक्रम राख्नुपर्ने माग गरेका थिए, जुन पूरा हुन सकेको थिएन। अर्को कुरा विगत ५–६ महिना अघिदेखि बाल बन्दीमाथि कडाइ भयो भनेर गुनासो गरिरहेका थिए उनले।
पुस १७ गते बिहान ७ बजेबाट सुरू भएको बैठक दिनभरी चल्यो। ‘हामीलाई कडाइ गर्ने’ भन्दै ३ जनासहित केही बाल बन्दीहरू आपसमा कुरा गर्न थाले। बेलुका ५ बजेतिर बालगृहको प्रशासन अघि बेन्चमा बसेका थिए असई समशेर गैरे। खाना खाने बेला भएको थियो । ती क्याप्टेन कनकन गरिरहेका थिए। असई गैरेले किन तिमीहरु कनकन गर्दै छौं भन्दै थिए। त्यतिकैमा मुख्य क्याप्टेनले असई गैरेलाई टाउकोमा रड प्रहार गरे। गैरे भुइँमा लडिहाले।
नजिकै रहेका प्रशासनका कर्मचारी नवराज बरालले त्यो दृष्य देखेपछि प्रशासन भवनभित्र भागे। त्यसपछि अन्य बाल बन्दीले पनि ढुंगा मुढा जे पायो त्यहीले हान्न थाले। त्यहाँ रहेका अन्य प्रहरीले बाल बन्दीलाई रोक्न खोजे।
७–८ जना बाल बन्दी आगो भएर उत्रि । त्यहाँ रहेका सबै कर्मचारी भाग्न थाले।
बाल बन्दीलाई रोक्न पुगेका प्रहरी जवान तीलक आले र दीपेन्द्र जोशी घाइते भए। भागेर लुकेका कर्मचारी नवराज बरालले कास्की प्रहरीलाई फोन गरेपछि कास्की प्रहरीले सराङकोट चौकीमा फोन गरे। चौकबाट असई भुवन लोहनी तुरून्तै बाल गृहमा पुगे। घटनालाई साम्य बनाए।
असई गैरेको टाउको, हात, आलेको घाँटी र जोशीको टाउकोमा चोट लागेको थियो । उनीहरुलाई उपचारको लागि पोखरा ल्याइयो। घटनामा संलग्न रहेका ८ जना बाल बन्दीलाई त्यस रात अलग्गै राखियो। सोमबार बिहान वडा प्रहरी कार्यालय बगरमा पुर्याइयो । त्यसपछि कास्की कारागार चलान गरियो।
उनीहरुलाई मंगलबार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी खड्कबहादुर खत्रीले बताए। घटनाबारे छानबिन गर्न गण्डकी अञ्चल प्रहरी कार्यालयका इन्स्पेक्टर विश्वविजय महतको संयोजकत्वमा समिति गठन गरिएको डिएसपी खत्रीले बताए।
घटनामा संलग्न सबै १६ वर्षभन्दा माथिका भएको स्रोतले बतायो। ‘३ जना क्याप्टेन नै १९ वर्षभन्दा माथिका छन्,’ स्रोतले भन्यो, ‘त्यसैमाथि ज्यान उद्योग र बलात्कारका धेरै छन्।’ उमेरका कारणले गर्दा समस्या आइ परेको स्रोतको भनाइ थियो । ‘अब उनीहरु जिल्ला कारागारमा रहेका बन्दीले जस्तो कार्यक्रम गर्न खोज्छन्,’ स्रोतले भन्यो, ‘बाल गृहमा मोडल अनि कलाकार ल्याएर कार्यक्रम गर्ने भन्छन्।’ राज्यले एउटा छुट्टै नीति बनाउनुपर्ने तर्क स्रोतको थियो । ‘मानौं १५ वर्षको बालकलाई ५ वर्षको लागि बाल गृहमा राखियो भने ऊ सजाय काटुन्जेल २० वर्षको हुन्छ,’ स्रोतले भन्यो, ‘अब २० वर्षको ठिटोलाई १४–१५ वर्षकोसँग राख्दा कुरा मिल्दैन, उनीहरुको माग र चाहना छुट्टै हुन्छ।’