पत्रकारलाई सदस्यता माग गर्दै पत्रकार महासंघ दोलखामा १२ दिन देखि लगाईएको ताला ।
सदस्यताको विवादका कारण दोलखाको पत्रकार महासंघमा १२ दिन अघि देखि लागेको ताला अहिले सम्म खुल्न सकेको छैन् ।
जिल्लामा कार्यरत पत्रकारलाई नयाँ सदस्यता नदिएको भन्दै प्रेस युनियन दोलखा शाखाले पुस ८ गते अघि पत्रकार महासंघको जिल्ला कार्यालयमा तालाबन्दी गरेको थियो ।
तालाबन्दी कारण महासंघको दैनिक कामकाज र सबै गतिविधि ठप्प प्राय बनेको छ । महासंघको जिल्ला शाखाका एक सदस्यका अनुसार ताला खुलाउन पहल नगरेका कारण दैनिक कामकाज रोकिनुका साथै पत्रकार महासंघले स्थापना गरेको जिल्ला प्रशासन कार्यालयको हेल्प डेस्क समेत प्रभावित बनेको छ ।
प्रेस युनियनले असोज महिनामा नयाँ सदस्यताका लागी आवेदन गरेका पत्रकारले सदस्यता नपाएको र महासंघको जिल्ला नेतृत्वले क्रियाशिल पत्रकारलाई सदस्यता दिनै आनाकानी गरेको आरोप लगाएको छ।
युनियनका जिल्ला अध्यक्ष दीपशंकर चौलागाईले केन्द्रले सर्कुलर गर्दा समेत सक्रिय पत्रकारलाई सदस्यता नदिईएका कारण बाध्य भएर तालाबन्दीमा उत्रिनु परेको जानकारी दिए । ‘महासंघको बिधान अनुसार महाधिवेशनको ६ महिना अगावै सदस्यता टुङग्याएर केन्द्रिय समितिमा पठाउनुपर्ने थियो’ उनले भने – ‘तर हामीले बिधान अनुसार असोजमा परेका आवेदन टुङग्याउँ भन्दा उहाँहरुले चासो नै दिनुभएन’ । उनले कार्तिक महिना सम्म परेका निवेदनहरु मात्र टुङग्याउन माग गरे ।
केन्द्रिय समितिले तत्काल ताला खुलाउन पहल गरेर जिल्लामा क्रियाशिल पत्रकारहरुको सदस्यता आगामी २४ गते भित्र केन्द्र पठाउन पुःन पत्राचार गरेपनि ताला खुलाउन महासंघको जिल्ला नेतृत्वले अहिले सम्म पहल गरेको छैन् । ‘मैले सदस्यता बारे टुङग्याउछु भन्दा भन्दै ताला लगाईयो’ महासंघका जिल्ला अध्यक्ष उद्धव पोखरेलले भने – ‘त्यसैले प्रेस युनियनले ताला लगाउनुको औचित्य पुष्टी गरेर आफैले ताला नखोले सम्म महासंघको तर्फबाट वार्ता सम्वाद गर्न कुनै पनि पहल हुनेछैन’ । उनले सदस्यता दिन महासंघ तयार रहेको बताए ।
युनियनका जिल्ला अध्यक्ष चौलागाईले छलफल पछि सक्रिय पत्रकारलाई सदस्यता प्रदान गर्ने निर्णय गरी त्यसका लागी सदस्यता छानविन समिति बनाए ताला खोल्ने बताए ।
जिल्लाले सदस्यता नदिएपछि असोज महिनामा शाखामा आवेदन गरेका ११ जना सहित ६८ जना पत्रकारले सदस्यता माग गर्दै केन्द्रिय समितिमा निवेदन दिएका छन् । केन्द्रिय समितिका पदाधिकारी र सदस्यले समेत ताला खुलाउन उचित पहल नगरेको आरोप जिल्लाका सञ्चारकर्मीले लगाएका छन् ।