के तपाईं पत्याउनु हुन्छ, चरा मानिसभन्दा धेरै बुद्धिमान हुन्छन्? मानिस घर बनाउन नजानी गुफा तथा कन्दरामा बस्दै आएको समय अर्थात आजभन्दा पाँच हजार वर्षअघि नै चराले आफ्ना लागि घर बनाएर व्यवस्थित रुपमा बस्दै आएका छन्।
डङ्गोलस बर्ड आर्ट ग्यालरीको आयोजनामा वरिष्ठ कलाकार हिरालाल डङ्गोलको ‘बर्डज अफ नेपालः दी आर्ट अफ हिरालाल डङ्गोल एन्ड हिज फेमिली लिगेसी’ शीर्षकमा १० दिने सामूहिक कला प्रदर्शनीको मंगलबार उद्घाटन गर्दै नेपाल कला परिषद्का अध्यक्ष एवम् शताब्दी पुरुष सत्यमोहन जोशीले सो जानकारी दिएका छन्।
उनका अनुसार मानिसले घर बनाउन नजानेको त्यस समयमा नै चराले आफ्ना लागि घर बनाउने काम जानिसकेका थिए । जोशी भन्छन्–“माटो, सुकेका पात आदि जम्मा गरी गौँथलीले त्यसबेला नै आजको क्रङ्क्रिटबाट बनेको घरभन्दा बलियो गुँड बनाइसकेका थिए ।
त्यस्तै, तोपचरा नामक चराले बनाएको गुँडमा फुल पार्ने कोठा, बैठक कोठा तथा खाना खाने कोठासमेत हुन्छ । केही चरा जाडो छल्न मानसरोवर तथा साइबेरियाबाट नेपाल आउने गरेको अझै पाइन्छ भने क¥याङकुरुङ, चक्रबाखा तथा बेलायतको स्काई लार्क चराको आफ्नो छुट्टै विशेषता र क्षमता छ । नेपालमा हाल आठसय ८६ प्रजातिका चरा पत्ता लागेका छन् ।
कार्यक्रममा नेपाल अधिराज्यका लागि श्रीलङ्काली राजदूत डब्लुएस पेरेराले कलाको माध्यमबाट मानिसलाई आत्मसन्तुष्टि मिल्ने बताउँदै सन् १९५७ मा नेपाल र श्रीलङ्काबीच दौँत्य सम्बन्ध स्थापना भएदेखि दुई मुलुकबीच कलाको क्षेत्रमा सम्बन्धको आदानप्रदान भइरहेको चर्चा गरे।
गौतमबुद्धको जन्मस्थल नेपाल श्रीलङ्काली जनताका लागि पवित्रभूमि रहेको र चरा तथा प्रकृतिले दुई मुलुकलाई अझै नजिक्याएको उनको भनाइ थियो ।
विश्व वन्यजन्तु संरक्षण कोषका कार्यकारी निर्देशक डा राजेन्द्र सुवालले नेपाल चरा प्रजातिको धनी मुलुक रहेको र यसको संरक्षणका लागि सरकार, निजी क्षेत्र तथा समाजको साझा प्रयास आवश्यक रहेको बताए।
नेपाल पन्छी संरक्षण सङ्घका अध्यक्ष नरेन्द्रमान प्रधानले नेपालमा पन्छीको संरक्षण हुन नसकेमा लोप हुने खतरामा रहेका पन्छीको बचावटको समस्या रहने बताए।
नेपालका चरा विशेषज्ञ डा हेमसागर बरालले नेपालमा आफूले हालसम्म आठसय ८६ प्रजातिका चरा पत्ता लगाएको जानकारी दिए। १० दिनसम्म चल्ने सो प्रदर्शनीमा कलाकार डङ्गोलको चरासम्बन्धी विभिन्न सयभन्दा बढी चित्र प्रदर्शनीमा राखिएका छन् ।
सो प्रदर्शनीमा ३५ हजारदेखि तीनलाख ५० हजार रुपैयाँसम्म मुल्यका चित्र राखिएका छन् । फुस्रो बकुल्ला, बटृाई, इप्सिलो, गोमामु महाचिल, सुवर्ण महाचील, वुडविकर तथा कङ्कम चील चराका चित्र आकर्षणको केन्द्र रहेका छन् । रासस
–––––