तरकारी बोक्ने बोलेरो जिपको ठक्करबाट चितवनमा एकजना प्रहरी जवानको मृत्यु भएको छ । अर्का एकजना गम्भीर घाइते भएका छन् ।
गएराति करिब ८:३० बजे साइकलमा हिँडिरहेका बेला जिपको ठक्करबाट जुनियर प्रहरी अधिकृत शिक्षालय, भरतपुरमा कार्यरत ३० वर्षीय प्रहरी जवान इनम दवाडीको मृत्यु भएको चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए।
सो दुर्घटनामा परी मोरङ घर भई सोही शिक्षालयमा कार्यरत ३३ वर्षीय सुमन घिमिरे गम्भीर घाइते भएका छन् । उनको अहिले चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।
चितवनको रत्ननगरबाट तरकारी बोकेर काठमाडौँ जाँदै गरेको ना ३ च ८३१ नंको बोलेरो जिपले साइकलमा सवार प्रहरीलाई ठक्कर दिएको हो । जिप र त्यसका चालकलाई नियन्त्रणमा लिइएको र शवलाई भरतपुर अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।