सांसद विन्दा राना मगरले कास्की जिल्लामा सांसद क्षेत्र विकास कोषअन्तर्गतका विभिन्न २० वटा योजना सार्वजनिक गरेकी छन्।
नेपाली काँग्रेस क्षेत्र नं ३, कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले आव २०७३÷७४ का लागि विनियोजित रकममध्ये विभिन्न योजनाअन्तर्गत भवन निर्माण तथा मर्मतका लागि १६ लाख ५० हजार, ई–गृहिणी साक्षात्कार कार्यक्रमका लागि १० लाख, बाटो निर्माणका लागि सात लाख ५० हजार, शिक्षातर्फ छ लाख रुपैयाँ छुट्याइएको जानकारी दिइन्।
त्यस्तै सिँचाइ, खानेपानी, पदमार्ग, प्रतीक्षालयलगायतका योजनाका लागि बजेट विनियोजन गरिएको छ।
लक्षित योजनाको सफलताका लागि स्थानीय उपभोक्ता, नागरिक समाज तथा सम्बद्ध सबै पक्ष र निकायको सकारात्मक सहयोग आवश्यक हुनेमा उनले जोड दिइन्।
नेपाली काँग्रेस कास्की क्षेत्र नं ३ का उपसभापति ध्रुव रायमाझीले विकास निर्माणका काम सफल र प्रभावकारी बनाउन समाजका प्रत्येक वर्ग र समुदायको जाकरुकता आवश्यक हुने बताए। रासस