जीवन जीउन कला सिकाउने द आर्ट अफ लिभिङले नेपालमा नै पहिलो पटक युरोलोजी अर्थात मिर्गौला, मूत्ररोग तथा नवजात शिशु रोगमा विशेषज्ञता हासिल गरेका दुईजना चिकित्सकलाई सोमबार धरानमा सम्मान गरेको छ।
द आर्ट अफ लिभिङ, धरानकी डिडिसी सदस्य पार्वती श्रेष्ठको सक्रियतामा अङ्ग्रेजी नयाँ वर्ष २०१७ मनाउने क्रममा मूत्ररोग विशेषज्ञ डा सुधीर सिंह र नवजात शिशुरोग विशेषज्ञ डा पियुष कनोडियालाई सम्मान गरिएको हो ।
चिकित्सकद्वयलाई ७० वर्षीया वृद्धा सुभद्रा श्रेष्ठले दोसल्ला तथा सम्मानपत्रले सम्मान गरेकी थिइन्। सम्मान कार्यक्रममा बोल्नुहुँदै डा सुधीर सिंहले आफू तीन वर्ष भारतका विभिन्न स्थानमा गएर मेहनतका साथ योग्यता हासिल गरी धरानमा काम गर्न पाउँदा आफूलाई धेरै नै खुसी लागेको बताए।
उनले आफूलाई सामाजिक संस्था द आर्ट अफ लिभिङले पहिलो पटक सम्मान गर्दा खुसीको सीमा नै नरहेको बताए। सिंहले यस्ता खालका सम्मानले आफूलाई गृह जिल्लामा मात्र नभएर समाजको हरेक स्थानमा काम गर्न प्रेरणा प्रदान गरेको बताए।
अर्का सम्मानित डा पियुष कनोडियाले आफूलाई गरिएको सम्मानले अति नै खुसी तुल्याएको प्रतिक्रिया दिदै आफूलगायतका केही साथीहरु भारतमा अध्ययन गर्दा पहिलो भएकोमा नेपालले पनि योग्य चिकित्सक पाएको बताए।
सामाजिक क्षेत्रमा काम गर्दै आएको द आर्ट अफ लिभिङले हरेक मानवले गर्ने सामाजिक कार्यलाई सम्मानका साथ सहयोगी हात अघि बढाइराख्ने स्वयम्सेवक पार्वती श्रेष्ठले बताइन्। रासस