नेपालले आफ्नो स्वभाविक छोटो पास र डिफेन्स लाइनलाई चुस्त राख्न नसक्दा चौथो साफ च्याम्पियनसिपअन्तर्गत भारतविरुद्ध पहिलो सेमिफाइनलमा ३–१ ले पराजित भएको छ।
साफ च्याम्पियनसिपको अघिल्लो तीन संस्करणमा भारतसँग फाइनलमा पराजित भएको नेपाल यसपालि पहिलोपटक सेमिफाइनलमा भिडेको थियो। जसमा नेपालविरुद्ध पुरानै खेलाडी हावी देखिए। जसकारण नेपाल पहिलापटक सेमिफाइनलबाट बाहिरिन बाध्य भयो।
नेपालविरुद्ध पहिलो हाफको ४४ मिनेटमा भारतकी स्टार स्ट्राइकर कमला देवीले उत्कृष्ट गोल गरिन्। उनले डिबक्समा नेपाली डिफेन्डरलाई बिट गर्दै दोस्रो बार च्यापेर हानेको प्रहार गोलमा परिणत भएको थियो।
भारतले पहिलो हाफको खेल १–० ले आफ्नो पक्षमा राखेको थियो। दोस्रो हाफमा मिडफिल्डर इन्दुमतिले ५९ मिनेटमा गोल गरिन्। उनले नेपाली डिफेन्डरको ‘अफ ट्रयाप’ लाई चिर्दै अर्को गोल गरिन्। दुई गोलले पछाडि परेको अवस्थामा नेपालले पेनाल्टीमार्फत गोल फर्काएको थियो।
नेपालका लागि सावित्रा भण्डारीले ७५ मिनेटमा पेनाल्टीबाट गोल गरेकी थिइन्। भारतीय डिफेन्डरले डिबक्सभित्र ह्याण्ड गरेपछि प्राप्त पेनाल्टीमा सावित्राले गोल गरिन्। उनको यो प्रतियोगितामा १२ औं गोल थियो।
दोस्रो हाफपछि खेलमा फर्किन संघर्षरत नेपालविरुद्ध सुस्मिता मलिकले तेस्रो गोल गरिन्। जसका कारण नेपालको फाइनल पुग्ने सपना भताभुङ्ग भयो। कमलादेवीको कर्नर किकमा डिबक्स भित्र नेपाली डिफेन्डरले बललाई क्लियर गर्न नसक्दा सुस्मिताले ८३ मिनेटमा गोल गरिन्।
नेपालले १० महिनाअघि सिलोङमा भएको १२ औं साग गेममा भारतविरुद्ध फाइनलमा ४–० गोलको पराजय बेहोरेको थियो। भारतीय खेलाडी पनि आज त्यति खुलेर खेल्न सकिरहेका थिएनन्। नेपालविरुद्ध अस्मिता मलिकले विङबाट उत्कृष्ट प्रदर्शन गरिन्। उनलाई रोक्न नेपाली डिफेन्डरलाई हम्मेहम्मे परेको थियो।
नेपाली स्ट्राइकर सावित्रालाई रोक्न भारतले दुई डिफेन्डरलाई खटाएको थियो। जुन रणनीतिमा उनीहरु सफल पनि भए। नेपालको कमजोरी पत्ता लगाएको भारतले लामो पास र हाई बललाई प्राथमिकता दिएको थियो। मैदानको मध्यभन्दा उनीहरुले विङबाट बढी प्रहार गरेका थिए।
तीन गोल खाएपनि नेपाली गोलरक्षक एन्जिला सुब्बाको प्रदर्शन हेर्न लायक थियो। उनले भारतको आधा दर्जन प्रहारलाई गोल पोस्टमा जोगाएकी थिइन्। खेल सकिएपछि मिडियासँग कुराकानी गर्दै नेपाली प्रशिक्षक कुमार थापाले बंगलादेशी रेफ्री मोहम्मद अनिसुर रहमानको निर्णयप्रति असन्तुष्टी जाहेर गरे।उनले आफ्नो टोलीले तीनवटा पेनाल्टीको अवसर पाउनु पर्नेमा रेफ्रीले नदिएको आरोप लगाए।
‘रेफ्रीको निर्णय चित्तबुझदो थिएन। हामीले तीनवटा पेनाल्टी पाउनु पर्ने थियो,’ प्रशिक्षक कुमारले भने। नेपालको हारप्रति भारतीय प्रशिक्षक सजिद धरले सहानभुति प्रकट गरे। ‘नेपालले राम्रो खेल्यो। तर, खेल हो अप्रिय निर्णय पनि निस्किने गर्छ,’ धरले पत्रकार सम्मेलनमा भने।