भारतको सिलगुढीमा जारी चौथो महिला साफ च्याम्पियनसिपअन्तर्गत अहिले भइरहेको पहिलो सेमिफाइनलमा आयोजक भारतले नेपालमाथि १-० को अग्रता लिएको छ।
कञ्चनजंघा रंगशालामा भइरहेको खेलको पहिलो हाफमा भारतले नेपालविरूद्ध गोल गर्दै अग्रता लिएको हो।
नेपालका लागि सधै खतरनाक बन्दै आइरहेकी कमलादेवीले पहिलो हाफको ४४ मिनेटमा गोल गरेकी हुन्। उनले मिडफिल्डबाट पाएको लामो पासलाई डिबक्स भित्र एंगल बनाउदै दोस्रो बारमा गोल गरेकी थिइन्।
उनलाई नेपाली डिफेन्डरले पछ्याउन सकेनन्। नेपालको डिफेन्स लाइन भत्काएर डिबक्स भित्र प्रवेश गरेकी कमलादेवीले दाहिने कुना चेपेर सशक्त प्रहार गरेकी थिइन्।
यसअघि नेपालकी सावित्रा भण्डारीको उत्कृष्ट पासमा ३९ मिनेटमा सरू सुब्बा गोल गर्नबाट चुकिन्। उनले भारतको एक डिफेन्डरलाई काटेर डिबक्समा अनमार्क रहेकी सरूलाई पास उपलब्ध गराएकी थिइन्।
जुन बललाई सरुले सिधै प्रहार गरिन्। उनको प्रहार गोल लाइनमा रहेकी भारतीय गोलरक्षक आदिती चौहानले रोकेकी थिइन्।
लगत्तै काउन्टर एट्याकमा भारतले पनि राम्रो मुभ बनाएको थियो। फरवार्ड कमला देवीको सशक्त प्रहार नेपाली गोलरक्षक अन्जिला सुब्बाले जोगाएकी थिइन्।