राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी वैशाख अन्तिम सातासम्म भएपनि स्थानीय तहको निर्वाचन गर्न सरकारसँग माग गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीको आइतबार कञ्चनपुरको भीमदत्तनगरमा आयोजित सुदूरपश्चिमान्चल स्तरीय आमसभालाई सम्बोधन गर्दै उनले तत्काल निर्वाचनको मिति घोषणा गर्नसमेत माग गरे।
आगामी २०७४ माघ ७ गतेसम्म तीनवटै स्थानीय तहको निर्वाचन नभए मुलुक फेरि अराजकताको दलदलमा फस्ने खतरा रहेको औँल्याउँदै थापाले निर्धारित समयमा निर्वाचन नगराए ठूला राजनीतिक दलहरुलाई जनताले सडकबाट खबरदारी गर्ने धारणा राखे।
दुई राप्रपा पार्टीको एकीकरणलाई परिस्थितिजन्य बाध्यता हो भन्दै अध्यक्ष थापाले परिवर्तन संस्थागत गर्ने नाउँमा जनताको अभिमतबिना हिन्दू राष्ट्रको पहिचान समाप्त पारिएको आरोप लगाए।
आमसभालाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका राष्ट्रिय अध्यक्ष पशुपतिशम्शेर राणाले राष्ट्रियता कमजोर भएकै कारण मुलुक तनावमा रहेको बताए। “मुलुक दिशाविहीन अवस्थामा भौँतारिएको छ”–उनले भने, “वर्तमान अवस्थामा राष्ट्रवादी शक्तिको आवश्यकता छ ।”
मुलुकले गुमाएको हिन्दू पहिचान संविधानमा पुनःस्थापना हुनुपर्नेमा उको जोड थियो ।
वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनीले पाँच विकास क्षेत्रलाई पाँचवटा प्रान्त बनाइनुपर्ने बताए। पाँच प्रान्त बनाउँदा उत्तरमा चीन र दक्षिणमा भारतसँग सम्बन्ध हुने भन्दै उनले विकासको तीव्रगतिमा रहेका दुई राष्ट्रलाई जोड्ने गरी सङ्घीय संरचना बनाउँदा नै हित हुने बताए।
सो अवसरमा अभिनेत्री रेखा थापाले राप्रपाको राष्ट्रियता र हिन्दूत्वको मुद्दाप्रति लोभिएर आफू राप्रपा प्रवेश गरेको बताइन्।रासस