भारतको ब्लु आर्मी सिलोङलाई हराउँदै आयोजक काकडभिट्टा क्लब सेमिफाइनलमा प्रवेश गरेको छ।
झापामा भएको खेलमा पाहुना टिम ब्लु आर्मी सिलोङ भारतलाई ट्राईव्रेकरमा ३-२ ले हराउँदै आयोजक काकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर मेची नेत्रालय काँकरभिट्टा गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको हो।
निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि काँकरभिट्टा माविको खेल मैदानमा भएको खेलमा नतिजा ट्राइब्रेकरबाट निकालिएको थियो ।
आयोजकका एञ्जल गुरुङ, विदेशी खेलाडी सेमसुङ्ग र सञ्जय राजभागले गोल गरेका थिए । नवीन सुवेदीले हानेको प्रहार सिलोङका गोलरक्षक विश्वजित नेगीले रोकेका थिए ।
सिलोङकातर्फबाट कप्तान लाल मावोन पुया र लाल रामदैया मोयाले गोल गरे । अजित सिंहले हानेको प्रहारलाई गोलरक्षक एलन न्यौपानेले बचाउ गरेका थिए। सुरज रावल र दिपक नेगीले हानेको प्रहार बाहिरिएको थियो । खेलको म्यान अफ द म्याच आयोजकका गोलरक्षक एलन न्यौपाने भए ।
उनले मेची नेत्रालयले प्रदान गरेको नगद ५ हजार र ट्रफ्री पाएका थिए।
सोमबारको खेल रुपन्देही–११ र विआरसी भूटानबिच हुने आयोजकका अध्यक्ष मिन बस्नेतले सेतोपाटीलाई जानकारी दिए ।