अति पिछडिएको दलित समुदाय मुसहर बस्तीका बालबालिकालाई महोत्तरीको एक प्राथमिक विद्यालयका प्रधानाध्यापकले चकलेट दिएर विद्यालयसम्म ल्याउनका लागि आकर्षित गर्दै आएका छन्।
महोत्तरी सुन्दपुर–५ स्थित दलित उत्थान प्रावि मैनटोल मुसहरीका प्रअ रामस्नेही ठाकुरले निजी पैसा खर्च गरेर बालबालिकालाई प्रत्येक दिन चकलेट वितरण गरिरहेका छन्। विसं २०६४ मा एक्सन नेपाल नामक संस्थाले बाटाको छेउमा दुईकोठे अर्धपक्की भवन बनाइदिएपछि त्यस समुदायका बालबालिकालाई आफूले पढाउँदै आएको ठाकुरले बताए।
विद्यालय सञ्चालन भएको एक दशकसम्म जिल्ला शिक्षा कार्यालयलाई सहयोगका लागि बारम्बार आग्रह गर्दा समेत कुनै किसिमको सहयोग नपाइएको गुनासो प्रअ ठाकुरले गरे। चौरासी जना विद्यार्थीले विद्यालयको स्थापनाकालदेखि नै पाठ्यपुस्तक र छात्रवृत्तिको रकम पाउन सकेका छैनन्।
जिल्ला शिक्षा कार्यालयले यसै वर्ष एककोठे पक्की शौचालय बनाइदिए तापनि त्यहाँ स्वच्छ खानेपानीको अभाव नै छ। विसंं २०६७ मा स्थानीयवासी राजकिशोर यादवले विद्यालयलाई जग्गा उपलब्ध गराए पनि आर्थिक स्रोतको अभावका कारण भवन निर्माण हुन नसकेको विद्यालयले जनाएको छ।
कक्षा ३ सम्म पढाइ हुने सो विद्यालयमा दुई बाल विकास र एक पिसिएफ (प्रति बाल कोष) दरबन्दी भए तापनि त्यहाँ दुई बाल विकास र दुई पिसिएफ शिक्षक छन्। पिसिएफका दुई शिक्षकले तलब बाँडफाँड गरेर बुझ्दै आएको विद्यालय स्रोतले जनाएको छ।
एक सय ८० मुसहर समुदायको घरपरिवार बसोबास गर्ने सो बस्तीका अधिकांश बालबालिका ससाना नानी खेलाउने, घरको कामकाज गर्ने जस्ता कामकाजमा व्यस्त भएका कारण अध्ययन गर्न विद्यालयसम्म आउन सकेका छैनन् । रासस