कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयशंकर नायकले प्रमुख दलहरुबीच संविधान संशोधन प्रस्ताव, निर्वाचन र महाअभियोगको प्रस्ताबबारे प्याकेजमै सहमति हुने विश्वास व्यक्त गरेका छन्। शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री नायकले यस्तो बताएका हुन्। ‘यही हप्ताभित्रै अवरुद्ध संसद सुरु हुन्छ, संविधान संशोधन प्रस्ताव अब प्रक्रियामा जान्छ, दलहरुबीच प्याकेजमै सहमति हुन्छ,’उनले भने।
मन्त्री नायकले सरकार दलहरुबीच सहमति कायम गरेर नै अघि बढ्न चाहेको स्पष्ट पार्दै भने,‘सरकार पेलेरै जाने मनशायमा छैन। हामी सबै दलहरुलाई सहमति र विश्वासमा लिएर अघि बढ्न चाहन्छौं। तर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि राष्ट्रिय पार्टीको भूमिका निर्वाह गर्नुपर्छ।’
उनले सरकारले संविधान संशोधन प्रस्ताव ल्याउने वित्तिकै प्रतिपक्षी दल एमाले यसकोविरुद्धमा आक्रमक रुपमा प्रस्तुत भएको उल्लेख गर्दै भने, ‘एमालेले संशोधन प्रस्तावको विरुद्धमा आक्रमक अभिव्यक्ति दिएको थियो। मधेशी मोर्चाका साथीहरुले पनि उत्तजेति भएर धारणा राखेका थिए। तर अहिले आएर वर्तमान धरातल र यथार्थलाई उहाँहरुले आत्मसात् गर्नुभएको छ। सुरुका दिनमा दुईवटा अति देखिएका थिए।’
मन्त्री नायकले संविधान कार्यान्वयन हुँदै गएको र यसका लागि निर्वाचनको आवश्यकता रहेको बताए। उनले मुलुक अब निर्वाचनमा जाने बताउँदै भने, ‘ढुक्क हुनुहोस्, अब मुलुक निर्वाचनमा जान्छ। एमालेले अब उदारता देखाउनुपर्छ, सदनपनि चल्छ।’
सत्तारुढ दल नेपाली काँग्रेसका प्रभावशाली नेता एवम् सांसद मिन विश्वकर्माले संविधान संशोधन प्रस्ताव पारित हुने र मुलुक निर्वाचनमा जाने ठोकुवा गरेका छन्।उनले संविधान कार्यान्वयन गर्नकै लागि पनि संविधान संशोधन अनिवार्य रहेको बताउँदै भने, ‘संविधान संशोधन भनेको नै कार्यान्वयन हो, चुनावपनि संविधान कार्यान्वयनको लागि हो। अहिले संविधान कार्यान्वयन भैरहेको छ। हिजो केपी ओलीजी प्रधानमन्त्री बन्नुभयो। यही संविधान बमोजिम त्यो पनि त संविधान कार्यान्वयन नै हो नि। फेरि उहाँको सरकार फेरबेदल भयो, त्यो पनि त संविधान कार्यान्वयन नै हो।’
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका प्रभावशाली नेता एवम् पूर्वमन्त्री रघुवीर महासेठले संविधान संशोधन प्रस्ताव राष्ट्रहित विपरित भएकोले यो प्रस्ताव संसदमा छलफल नै गर्न लायकको नभएको टिप्प्णी गरे।
सरकारले संविधान संशोधन प्रस्तावमा उल्लेख गरेका विषयहरु राष्ट्रको हितमा नभएकै कारण आफ्नो पार्टीले यसको विरोध गरिरहेको स्पष्ट पार्दै नेता महासेठले भने, ‘वर्तमान सरकारले अघि सारेको प्रदेशको सिमांकनको संशोधन प्रस्ताव कुनै हालतमा राष्ट्रको हितमा छैन, यो त मदारीले बाँदर नाँच देखाएकोजस्तो हो, नाँच्ने बाँदरलाई केही थाहा हुँदैन।’
उनले नागरिकताको सवालमा अंगीकृत नागरिकताको विषय संशोधन प्रस्तावमा उठाईएको कुरामा आफूहरु कुनै हालतमा सहमत हुन नसक्ने समेत ठोकुवा गरे। महासेठले भने,‘स्वयम् मधेशी मोर्चाले उठाएका कुन चाहीँ माग यो संशोधन प्रस्तावले पूरा गर्छ, मलाई देखाउनुहोस् त? अंगीकृत नागरिकतालाई अब कडा भन्दा कडा बनाईनुपर्छ। मधेशमा जन्मसिद्ध नागरिकता लिनलाई समस्या छ। तिनीहरुको भविष्यको बारेमा कुनै चिन्ता छैन, अनि अंगीकृतलाई नागरिकता दिने कुरा किन गरियो?’
उनले एमाले कुनै हालतमा मधेशविरोधी पार्टी नभएको समेत जिकिर गर्दै भने,‘एमाले कसरी मधेश विरोधी पार्टी भयो? केपी ओली प्रधानमन्त्री हुँदा हुलाकी राजमार्गको लागि साढे चार अर्ब बजेट निकासा भयो, बृद्ध भत्ता दोब्बर भयो, यो मधेशविरोधी काम हो र? म प्रश्न गर्न चाहन्छु।’
मधेशी मोर्चाका नेता मनिष सुमनले संविधान संशोधन प्रस्ताव परिमार्जनसहित पारित नभए कुनैपनि निर्वाचन हुन नदिने मोर्चाले निर्णय गरिसकेको बताए। उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मधेश विरोधी कार्य गरिरहेको समेत आरोप लगाए।