राहुघाट जलविद्युत् आयोजनाको पिप्लेमा निर्माणाधीन आवासगृह र कार्यालय भवन योजना ढिलासुस्तीको नमुना बनेको छ। अठार महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको योजना पाँच वर्षमा पनि पूरा हुन नसकेको हो।
नेपाल विद्युत् प्राधिकरणले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको कार्यालय र कर्मचारी आवास प्रयोजनका लागि विसं २०६७ मा भवन निर्माण सुरु गरेको थियो । चौध वटा पक्की भवन बनाउन गोर्खा कन्सट्रक्सन एन्ड स्वच्छन्द जेभीले ११ करोड १० लाख ६७ हजार रुपैयाँमा ठेक्का लिएको थियो ।
समयमै भवन नबन्दा आयोजनाले कार्यालय र कर्मचारी आवासका लागि मासिक लाखाँै रुपैयाँ घरभाडामा खर्चने गरेको छ । ठेकेदारले ढलान गरेर भवन ठडाए पनि प्लास्टर, रङ्गरोगन, विद्युत् र खानेपानी जडान गर्न बाँकी छ । निर्माण पूरा नहुँदै जीर्ण र थोत्रिएको राहुघाटको भवन निर्माण योजना सरकारी आयोजनामा हुने चरम ढिलासुस्तीको नमुना बनेको स्थानीयवासी लेखनाथ शर्माले बताए। आयोजनाका अनुसार सो भवनको निर्माणको काम अहिलेसम्म करिब ७० प्रतिशत मात्रै सकिएको छ ।
दुईवटा कम्पनीले संयुक्त रुपमा काम गर्ने सम्झौता गरे पनि उनीहरुबीच वित्तीय समस्या र आन्तरिक द्वन्द्व उत्पन्न भएर भवन निर्माणको काम प्रभावित बनेको हो । आयोजनाका निमित्त प्रमुख रमेशमान श्रेष्ठले भवनको काम छिटो सक्न ठेकेदारलाई ताकेता गरिरहेको बताए। अन्तिम पटक आगामी चैत मसान्तसम्म काम सक्न ठेकेदारलाई समयसीमा दिइएको छ । ठेकेदार कम्पनीका प्रतिनिधि विनोद राईले भने आयोजना र प्राधिकरणले रनिङ बिलको भुक्तानी गर्न धेरै लामो प्रक्रियामा अल्झाउने गरेकाले त्यसको प्रभाव काममा परेको बताए।
यसअघि काम सुस्त भए पनि अहिले जनशक्ति थप गरेर पर्खाल लगाउने र घेराबार गर्ने कामलाई तीव्रता दिइएको राईले बताए। आगामी छ महिनाभित्र भवन बनाएर आयोजनालाई हस्तान्तरण गर्ने उनको भनाइ छ । रासस