तेहथुमको सक्रान्तिमा भएको भीषण आगलागीका पीडितहरुलाई सैनिक श्रीमती सङ्घले बिहीबार राहतस्वरुप खाद्यान्न र लत्ताकपडा वितरण गरेको छ।
नेपाली सेनाको भैरवी दल गण फिदिमको संयोजनमा सङ्घले सक्रान्ति बजार पुगेरै सहयोग गरेको हो । आगलागी पीडित ७३ परिवारलाई चामल, ज्याकेट र कम्बल बाँडिएको हो ।
श्रीमती सङ्घकी सदस्य पूजा पन्त र भैरवी दलका गणपति शिवराज पन्तले पीडितहरुलाई राहत सामग्री हस्तान्तरण गरेका थिए। प्रत्येक परिवारलाई २५ केजीका दरले चामल, ९० थान ज्याकेट र ७८ थान कम्बल सहयोग गरिएको हो ।
आगलागीका समयमा फिदिमबाट गएको गणका सैनिक जवानहरुले आगो नियन्त्रणमा लिन महत्वपूर्ण सहयोग गरेको भन्दै स्थानीय बासिन्दाले प्रशंसा समेत गरेका थिए । बाँडिएको राहतले पीडितहरुलाई जाडोबाट बच्न सहयोग पुग्ने राहत व्यवस्थापन समितिका अध्यक्ष प्रेम पौडेलले बताए । रासस