नेपालमा पाइने बहुमूल्य रत्न पत्थर कुनै न कुनै किसिमले चोरी–निकासी भइरहेका बेला यसलाई पत्ता लगाउन र उत्खननका निम्ति पहल सुरु भएको छ ।
घरेलु तथा साना उद्योग विकास समिति डोटीले जिल्लाका विभिन्न स्थानमा रहेका नदी, पहाडी र लेकाली क्षेत्रमा पाइने रत्न पत्थरका विषयमा तीनमहिने तालिम दिन सुरु गरिएको छ। देशमा बेरोजगारी समस्या बढ्दै गएका बेला यस्ता आधारभूत तालिमले यहाँका जनताको जीवनस्तर उकास्नमा थप टेवा मिल्ने समितिका कार्यकारी निर्देशक माधव सुवेदीले जानकारी दिए।
गत वर्ष पनि समितिले जिल्लामा सोसम्बन्धी तालिम सञ्चालन गरेको थियो। सो तालिमले धेरैलाई सीप प्रदान गरी आत्मनिर्भर गराउने डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेन्द्र खड्काले बताए।
रत्न पत्थरसम्बन्धी जानकारी नहुँदा यहाँका बहुमूल्य ढुङ्गा गिट्टी, बालुवामा परिणत भएको तथा भारतीय नाकाद्वारा चोरी–निकासी भइरहेको पत्रकार मिलन परियारले बताए। उनले भारतीयहरु नेपालमा आई बहुमूल्य ढुङ्गा चिनेर नम्बर हाल्ने र यहाँका केही व्यक्तिको संलग्नतामा निकासी गर्ने प्रति पनि सजग हुनुपर्नेमा जोड दिए। रासस