सशस्त्र प्रहरीको एपिएफ क्लबका मध्यगतिका धावक गोपीचन्द्र पार्कीले फेरि एकपल्ट ओलम्पिक धावक हरिप्रसाद रिमाललाई स्तब्ध पारेका छन्। ५ हजार मिटर दौडमा हरिलाई दशमलव ५ सेकेन्डले हराउदै सातौ बृहत राष्ट्रिय खेलकुदमा स्वर्ण जितेका पार्कीले मंगलबार १० हजार मिटरमा हरिलाई तेस्रो स्थानमा छोडे।
धनगढीका २७ वर्षीय यी धावकले १० हजार मिटरको निर्धारित दूरी ३१ मिनेट ३९ दशमलव ०५ सेकेन्डमा निकाले। पहिलो पल्ट बृहत राष्ट्रिय खेलिरहेका पार्कीले यसपालि मध्यदूरीको ५ हजार र १० हजार दुवैमा स्वर्ण जितेका हुन्।
१० हजारमा ४ महिनाअघि रियो ओलम्पिक खेलेर फर्किएका हरिलाई पराजित गरेपछि पार्कीले आफूलाई अगाडि बढ्न नदिन ट्रयाकमा आर्मीका हरि रिमाल र कृष्ण बस्नेतले दुई पल्ट छेक्न खोजिएको आरोप लगाए।
‘उनीहरुभन्दा अगाडि बढ्न खोज्दा मलाई छेक्ने काम भयो। रेफ्रीले पनि केही भन्नुभएन्। खेलमा बाटो छेक्नु खेल भावना विपरित हो’, पार्कीले गुनासो पोखे।
रिमाल पार्कीको आरोपमा कुनै दम देख्दैनन्। उनले आफूले स्वभाविक खेल खेलेको प्रतिक्रिया दिए। ‘ छिटो दौडनेहरु अर्को ट्र्याकबाट पनि उछिनेर जान सक्थे’, हरिले भने।
यस स्पर्धामा आर्मीका कृष्ण बस्नेतले रजत जिते। उनले निर्धारित दूरी ३१ मिनेट ४४ दमलव ०५ सेकेन्डमा पुरा गरे। यसपछि मात्र हरिले ३१ मिनेट ५९ दशमलव ८४ सेकेन्डमा निर्धारित दूरी पुरा गरे। उनले कास्यमा चित्त बुझाए। उनले ५ हजार मिटरमा रजत जितेका थिए।