सातौं बृहत राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सतर्फ मंगलबार अन्तिम दिनको खेलमा एपिएफका दुई खेलाडी गोपीचन्द्र पार्की र कान्छिमाया कोजूले बाजी मारेका छन्।
यी दुवै खेलाडीले १० हजार मिटर महिला र पुरुषतर्फको स्पर्धा जितेका हुन्। दुवैले ५ हजार मिटरमा पनि आफ्नो वर्चश्व कायम गरेका थिए।
गोपीले त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेत र हरिकुमार रिमाललाई पछि पार्दै सातौं खेलकुदमा दोस्रो स्वर्ण पदक जितेका हुन्।
गोपीले निर्धारित दूरी पूरा गर्न ३१ मिनेट ३९.०५ सेकेन्ड समय लगाए। आर्मी क्लबका कृष्ण बस्नेतले निर्धारित दूरी ३१ मिनेट ४४.०५ सेकेन्डमा पूरा गर्दै रजत पदक जिते। आर्मी क्लबकै हरिले ३१ मिनेट ५९.८४ सेकेन्डमा निर्धारित दूरी पार गर्दै कास्य जिते।
महिलातर्फ १० हजार मिटर दौडमा स्वर्ण जितेकी कान्छीमायाले निर्धारित दूरी ३७ मिनेट १६.९० सेकेन्डमा पूरा गरिन्। आर्मी क्लबकी विश्वरुपा बुढा ३८ मिनेट ३६.६० सेकेन्डमा पूरा गर्दै दोस्रो भइन्। तेस्रो स्थान हात पारेकी आर्मी क्लबकी लक्ष्मी पाण्डेले ३९ मिनेट ३२.५५ सेकेन्डमा दूरी पुरा गरिन्।
पुरुष चार सय मिटर हडल्समा आर्मी क्लबका रामप्रसाद थारुले स्वर्ण जिते। उनले निर्धारित दूरी ५८.७० सेकेन्डमा पूरा गरे। आर्मी क्लबकै विशेष महतोले रजत पदक हात पारे। उनले निर्धारित दूरी एक मिनेट ०१.२९ सेकेन्डमा पूरा गरे। मध्यपश्चिमका रमजान अली सलमानी एक मिनेट २.४८ सेकेन्डको प्रदर्शनसहित तेस्रो भए।
यसैगरी महिला चार सय मिटर दौडमा आर्मी क्लबकी संगीता मेचे पहिलो भइन् । उनले निर्धारित दूरी एक मिनेट २.६० सेकेन्डमा पूरा गरिन्। उक्त स्पर्धामा आर्मी क्लबकै कृष्णा चौधरीले निर्धारित दूरी एक मिनेट४.६० सेकेन्डमा पूरा गर्दै रजत र एपीएफ क्लबकी भागीरथीकुमारी थारुले निर्धारित दूरी एक मिनेट ०५.३० सेकेन्डमा पूरा गर्दै कास्य हात पारिन्।
पुरुषतर्फको चार सय मिटर दौडमा पनि आर्मी क्लबकै सोमबहादुर कुमालले स्वर्ण पदक जिते। उनले निर्धारित दूरी ४९.६८ सेकेन्डमा पूरा गरे। उक्त स्पर्धामा आर्मी क्लबकै हिमाल केसीले रजत पदक हात पारे। उनले निर्धारित दूरी ५१.६८ सेकेन्डमा पूरा गरे। एपीएफ क्लबका शिवराज पार्कीले निर्धारित दूरी ५२.५३ सेकेन्डमा पूरा गर्दै कास्य हात पारे।
चार गुना सय मिटर पुरुष दौडमा आर्मी क्लब ४३.२६ सेकेन्डको प्रदर्शनसहित पहिलो भयो। आर्मी क्लबको टोलीमा छविलाल चौधरी, जीवन चौधरी, हिमाल केसी र आनन्ददेव चौधरी सहभागी थिए। उक्त स्पर्धामा ४४.७६ सेकेन्डको प्रदर्शनसहित मध्यमाञ्चल दोस्रो र ४४.८५ सेकेन्डको प्रदर्शनसहित एपीएफ क्लब तेस्रो भए। मध्यमाञ्चलको टोलीमा अरुण महतो, खिलबहादुर कार्की, आशिष खत्री र शिखर उप्रेती थिए।
एपीएफको टोलीमा भने सत्य बुढा, शिवराज पार्की, नारायण, आशिष चौधरी थिए।
महिलातर्फको चार गुन सय मिटर दौडमा ५२.२० सेकेन्डसहित आर्मी क्लब पहिलो, ५३.८३ सेकेन्डसहित मध्यपश्चिमाञ्चल दोस्रो र ५३.८५ सेकेन्डसहित एपीएफ क्लब तेस्रो भए। आर्मी क्लबको टोलीमा रमिता चौधरी, दुर्गा देवकोटा, कृष्ण चौधरी र संगीता मेचे थिए। मध्यपश्चिमाञ्चल टोलीमा प्रमिला थारु, जयरानी चौधरी, विष्णु आले, रुपा थारु थिए । एपीएफ क्लबको टोलीमा सरस्वती चौधरी, सविता चौधरी, शिला, दिलमाया थिए ।