पूर्वाञ्चलमा जारी सातौ राष्ट्रिय खेलकुद अन्तर्गत पुरूष क्रिकेट प्रतियोगितामा पश्चिमाञ्चलले पूर्वाञ्चललाई हराएको छ। टस जितेर पहिले व्याटिङ गरेको पश्चिमाञ्चलले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउँदै १४३ रन बनायो। उसका लागि कृष्णा कार्कीले नटआउट ५५ रन बनाए। मात्र २४ बल खेलेका उनले ५ छक्का र ३ चौका प्रहार गरेका थिए। यस्तै पश्चिमाञ्चलका लागि अन्तिम थापाले ४४ रन जोडे। पूर्वाञ्चलका लागि सन्दिप ढुंगानले २ तथा फिरोस अन्सारी र विवेक यादवले १-१ विकेट लिए।
१४४ रनको जवाफी ब्याटिङमा उत्रिएको पूर्वाञ्चल १९.३ ओभरमा अलआउट हुँदै १३८ रनमा समेटियो। उसका लागि मेहबुब आलमले सर्वाधिक ४७ रन बनाए पनि त्यो जितका लागि पर्याप्त रहेन।
पश्चिमाञ्चलका अमृत गुरूङ, धिरज साही, साह अलाम र लाल अधिकारीले २-२ विकेट लिए।
आजको जितसँगै समूह बि मा रहेको पश्चिमाञ्चल ४ अंकसहित दोस्रो स्थानमा उक्लिएको छ। समूहमा समान ४ अंक भएपनि एक खेल कम खेलेको नेपाल पुलिस रन रेटका आधारमा शीर्ष स्थानमा छ। पराजित पूर्वाञ्चल समूहका सबै तीन खेल खेल्दै पुछारमा छ।
यस्तै समूह एमा एपिएफ र आर्मीको समान ४-४ अंकसहित क्रमशः शीर्ष दुई स्थानमा छन्। भोलि समूहको अन्ति खेलमा पुलिसले मध्यमाञ्चलसँग प्रतिश्पर्धा गर्ने छ भने अर्को खेलमा एपिएफ र आर्मी भिड्नेछन्।
यसअघि आजै भएको पहिलो खेलमा सुदूरपश्चिमलाई ७ विकेटले हराउँदै मध्यपश्चिमाञ्चलले पहिलो जित दर्ता गर्यो।