दलहरूबीचको विवाद कायमै रहेका बेला स्थानीय तह पुर्नसंरचना गर्न बनेको केन्द्रीय आयोगले झापामा १५ वटा स्थानीय निकाय रहने टुङ्गो लगाएको छ। जिल्ला विकास समिति झापामा यसअघि पटक पटक बसेको प्राविधिक सहितको राज्य पुर्नसंरचना आयोगले झापाको क्लस्टर संख्या टुङ्गो लगाउन दलबीचकै विवादका कारण सकेको थिएन।
केन्द्रीय आयोगले पनि १० देखि १६ वटासम्म क्लस्टर रहन सक्ने सुझाव झापालाई दिएको थियो। अन्ततः केन्द्रीय आयोगलले बहुमतका आधारमा ८ वटा नगर र ७ वटा गाँउपालिकाको टुङ्गो लगाएको हो। यद्धपि आयोगले मन्त्रिपरिषदलाई सिफारिस गर्न बाँकी छ।
नेपाली कांग्रेसका नेता देउकुमार थेवेका अनुसार बाहुनडाँगी, ज्यामिरगढी, धाइजन, दुवागढी गाविस हालको मेचीनगरपालिकामा गाभिएर मेचीनगरपालिका हुने भएका छ।
यसअघि मेचीनगरलाई उपमहानगर बनाउने भनिएको थियो। शान्तिनगर गाविस र बुधबारे गाविस जोडेर बुद्धशान्ति गाउँपालिका बनिने भएको छ। हालको शनिअर्जुन नगरपालिकामा खुदुनाबारी गाविस जोडेर अर्जुनधारा नगरपालिका हुने भएको नेका महासमिति सदस्यसमेत रहेका नेता थेवेले सेतोपाटीलाई बताए।
यस्तै हालको विर्तामोड नगरपालिकामा गरामनि गाविस थपेर विर्तामोड नगरपालिका कायम गरिने भएको छ।
हल्दीबारी, जलथल, गोलधाप मिसाएर हल्दिवारी गाउँपालिका हुने भएका छ। पृथ्वीनगरलाई भद्रपुरनगरमा मिसाएर भद्रपुर नगरपालिका कायम गरिने भएको छ।
यता पाठामारी, बनियानी, बालुवाडी, पथरिया, केचना र घेरावारी गाविस जोडेर केचनाकवल गाउँपालिका प्रस्ताव गरिएको छ।
राजगढ, चकचकी, डाँगीबारी, मिलाएर बाह्रदसी गाउँपालिका बनाईएको छ। कन्काई नगरपालिकालाई यथावत राखिएको छ।
यस्तै कुमरखोद, टाघनडुव्बा र शरणामति गाविस जोडेर झापा गाउँपालिका बनाईने भएको छ। हालको शिवसताक्षी नगरमा छिमेकी धरमपुर र पाँचगाछी गाविस जोडिने भएका छन्। यस्तै गौरादह नगरमा बैगुनधुरा गाविस जोडिने भएको छ। माहाभारा, जुरोपानी, गौरिगञ्ज, खजुरगाछि गाविस जोडेर गौरिगञ्ज गाँउपालिका बनाईने भएको छ।
तोपगाछी र लखनपुर गाविसलाई जोडेर कमलनगर गाँउपालिका बनाईने भएको छ। दमक नगरपालिकालाई यथावत राखिएको छ।
थेवेका अनुसार आयोगले गरेको निर्णय झापाको भुगोललाई सुहाउँने छ। हाल केन्द्रीय आयोगले गरेको निर्णयमा झापामा रहेका आदीबासी जनजाति मधेसी र मुस्लीम समुदायको बाहुल्यता रहेको भुगोललाई ४ वटा क्लस्टर आयोगले नै निर्णय गरेको हो। उनका अनुसार भद्रपुर, केचनाकवल गौरीगञ्ज, झापा र बाह्रदसी पहिचानका आधारमा आयोगले निर्णय गरेको हो। यस्तै शिवसताक्षी, हल्दीबारी र बुद्धशान्ति पनि आदिबासी जनजातिको पहिचानको आधारमा आयोगले क्लस्टर तय गरेको थेवेले बताए।
हाल आयोगले निर्णय गरेको झापाको संख्या यहाँका जात, जाति, भाषा , र समुदायलाई सम्मान भएको पनि थेवेले बताए।
यता शिवसताक्षी नगरका नेपाली कांग्रेसका सभापति पर्शुराम ढुंगानाले दलबीचको विवादलाई जिल्लामै सुल्झाएर क्लस्टर संख्या निर्धारण गर्न बसेको पटक पटकको छलफलले निर्णय दिन नसक्दा आयोगको सदस्य संख्याको बहुमतले झापाको टुंगो लगाएको बताए। ‘जिल्लाको भाषा, जात र पहिचानको मुद्दालाई हाल तय गरिएको क्लस्टर संख्याले सम्मान गरेको छ,’उनले भने।