नेपाल प्रहरीकी मनमती बिष्ट सोमबार एथलेटिक्सको २ सय मिटर दौडमा पदक जित्ने कुरामा विश्वस्त थिइन्। १० महिनाअघि भारतको आसामस्थित गुवाहाटीमा सम्पन्न १२ औं सागमा उनले दुई सय मिटर दौड २६ सेकेन्डमा पुरा गरेकी थिइन्।
त्यसैले उनी आश्वस्त थिइन, सातौं बृहत राष्ट्रियअन्तर्गत २ सय मिटरमा पुरानो टाइमिङलाई निरन्तरता दिन नसकिए पनि कुनै पदक जितिन्छ होला! तर, दौड पुरा भइसकेपछि उनी छानाबाट खसे जस्तै भइन्। उनलाई नेपाल आर्मी र मध्यमाञ्चलका खेलाडीले उछिन्दै सबै पदक जिते। २ सय मिटरमा यसअघि बर्चश्व जमाएकी मनमती चौथो हुँदै पदकबिहिन बनिन्।
यसपछि मैदानमा उनको आँशु थामिएन्। उनी एक्लै सुकसुकाउन थालिन्। मनमतीलाई २ सय मिटरमा पहिलो पल्ट बृहत राष्ट्रिय खेलिरहेकी कृष्णा चौधरी, संगीता मेचे र प्रमिला थारुले पछाडि छाडे। नेपाल आर्मीकी कृष्णाले २ सय मिटरको दुरी २६ मिनेट ९० सेकेन्डमा पुरा गर्दै स्वर्ण जितिन्। नेपाल आर्मीकै संगीताले २७ दशमलव ७२ सेकेन्डमा रजत र मध्यमाञ्चलकी प्रमिलाले २७ दशमलव ७३ सेकेन्डमा कास्य पदक जिते। मनमती २८ दशमलव ३८ सेकेन्डमा दुरी पुरा गर्दै चौथो भइन्।
‘के भयो कुन्नी। अन्तिम तिर दौडिनै सकिन्। जीउ नै भारी भएर आयो,’ नेपाल प्रहरीकी अन्तर्राष्ट्रिय खेलाडी मनमतीले भनिन्। उनले यसअघि २ सय मिटर दौड २५ दशमलव ८७ सेकेन्डमा दौडिदै आइरहेकी थिइन्।
साग खेलेर फर्किएपछि मलाई थाइराइड भयो। औषधी खाइरहेको थिए। यसैले तौल पनि बढ्यो,’ आफ्नो स्पर्धामा मेडल बिहिन बन्न पुगेपछि निरास देखिएकी मनमतीले सेतोपाटीसँग भनिन्। उनले यसलाई आफ्नो जीवनकै खराब प्रदर्शन बताउन चुकिनन्।