सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज भएको पुरुष कराते खेलमा सशस्त्र प्रहरीका मुकुन्द्र महर्जनले स्वर्ण पदक जितेर लगातार तीनवटै राष्ट्रिय खेलकुदमा स्वर्ण पदक जित्ने खेलाडी भएका छन्।
विराटनगरको सहिद रङ्गशालामा भएको पुरुष कराते ६७ किलोको तौलमा उनले स्वर्ण पदक प्राप्त गरेका हुन्। यसअघि पनि उनले पाँचौं र छेटौं राष्ट्रिय खेलकुद प्रतियोगितामा स्वर्ण पदक प्राप्त गरेर पर्शुराम बास्तोलासँग आफूलाई बराबरीमा उभ्याएका छन्।
यस प्रतिस्पर्धामा सुदूरपश्चिमका मोहम्मद शेख आलमले रजत र नेपाल प्रहरीका भूपेन्द्र खड्का तथा मध्यमाञ्चलका विशाल पौडेलले कास्य पदक प्राप्त गरेका छन् ।
यस्तै पुरुषको ८४ किलोमुनिको तौलमा नेपाल प्रहरीका दिवस श्रेष्ठले पश्चिमाञ्चलका सुनित घर्तिमगरलाई पराजित गर्दै स्वर्ण पदक प्राप्त गरे। सो खेलमा पूर्वाञ्चलका ईश्वर माझी र सशस्त्र प्रहरीका भीमबहादुर तामाङ तेस्रो स्थानमा रहेका छन् ।
त्यस्तै महिलातर्फ ६८ किलोको तौलमा सशस्त्र प्रहरीकी कल्पना बस्नेतले स्वर्ण पदक प्राप्त गरेकी छिन् । उनले नेपाली सेनाकी रीता कार्कीलाई पराजित गर्दै स्वर्ण पदक हात पारेकी हुन् । मध्यमाञ्चलकी रोजिता रङ्जित र नेपाल प्रहरीकी मनिता मोक्तानले कास्य पदक पाएकी छिन् ।
टेबल टेनिस
टेबल टेनिसतर्फको मिक्स डबलल्सको खेलमा नेपाल प्रहरीका दीप साउन र नविता श्रेष्ठको जोडीले आफ्नै टोलीका स्यान्टु श्रेष्ठ र एलिना महर्जनको जोडीलाई ११–८, ११–५ र ११–४ले पराजित गर्दै स्वर्ण पदक प्राप्त गरेकी छन् ।
एपिएफका पुरुषोत्तम बज्राचार्य र सोनु थापामगर तथा नेपाली सेनाका कृष्ण थापामगर र रोविना महर्जनको जोडीले कास्य पदक प्राप्त गरेकि छिन् ।
दौडमा सेनाको वर्चस्व
सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भएको दौड प्रतियोगितामा आज नेपाली सेनाले दुई वटा स्वर्ण पदक प्राप्त गरेका छन्।
आठ सय मिटरको दौडमा महिलातर्फ नेपाली सेनाकी सरस्वती भट्टराई र पुरुषतर्फ नेपाली सेनाकै सोमबहादुर कुमालले स्वर्ण पदक प्राप्त गरेका हुन् । भट्टराईले २ मिनेट १९ दशमलव ४२ सेकेन्डमा र कुमालले २ मिनेट २ दशमलव ४७ सेकेन्डमा सो दौड पूरा गरेका थिए ।
यसैगरी महिलातर्फ नेपाली सेनाकी सानुमाया कार्कीले २ मिनेट २५ दशमलव ५६ सेकेन्डमा र पुरुषतर्फ नेपाली सेनाकै जीवन चौधरीले २ मिनेट ४ दशमलव ७१ सेकेन्डमा सो दौड पूरा गरेर रजत पदक प्राप्त गरेका छन् ।
त्यस्तै, महिलातर्फ पश्चिमाञ्चलकी सीमाकुमारी चौधरीले २ मिनेट ३१ दशमलव ६२ सेकेन्डमा र पुरुषतर्फ सशस्त्र प्रहरीका हिक्मत कार्कीले २ मिनेट ४ दशमलव ८७ सेकेन्डमा सो दुरीको दौड पूरा गरेर कास्य पदक जितेका हुन् । रासस