प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जनता र राष्ट्रले प्राप्त गरेका उपलब्धी जोगाउन माओवादीहरु एक ठाउँमा उभिनुपर्ने बेला आएको बताएका छन्।
प्रधानमन्त्री दाहालले माओवादी पार्टी फुट्दा र परिवर्तनकारी शक्ति कमजोर हुँदा जनताले प्राप्त गरेका उपलब्धी उल्टयाउन कोसिस भईरहेको दावी समेत गरे। पार्टी नेता तथा सांसद स्वर्गीय भक्तिप्रसाद पाण्डेको जीवनमा आधारित पुस्तक चाचाको विमोचन गर्दै प्रधानमन्त्री दाहालले परिवर्तनलाई उल्टयाउन केही शक्ति धराप थापेर बसेको भन्दै चिन्ता पनि व्यक्त गरे।
उनले पछिल्ला समयमा गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता विरोधी शक्तिहरु सलबलाई रहेको भन्दै त्यसलाई चिर्न पनि खासगरी परिवर्तनका अगुवा शक्ति माओवादीबीच मिलेर अघि बढनुपर्ने बेला आएको टिप्पणी गरे। प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयनका लागि माओवादी शक्तिहरु एक ठाउँमा उभिनुको विकल्प नरहेको पनि उल्लेख गरे।
कार्यक्रममा बोल्दै नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले विचार नमिलेकै कारण आफूले नयाँ पार्टी खोल्नु परेको स्पष्ट पारे। उनले गुटउपगुटका कारण परिवर्तनको अभियान कमजोर हुने देखेपछि मुलुकलाई आर्थिक समृद्धिको दिशामा लैजान नयाँ पार्टी खोल्नु परेको पनि दोहो¥याए। संयोजक भट्टराईले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र आफूबीचको सम्बन्ध तिक्त नभएपनि वैचारिक मतभिन्नता भने सधैं कायमै रहेको पनि स्मरण गराए।
संयोजक भट्टराईले क्रान्तिको नेतृत्व गर्ने परिवर्तनकामी शक्तिहरुले जस लिन भने कहिल्यै नसकेको पनि स्वीकार गरे।