पर्वतको सदरमुकाम कुश्माबजारमा आइतबार सञ्चालित एक दिने निःशुल्क मुटुरोग परीक्षण शिविरमा ५०० भन्दा बढी अभिभावक र विद्यार्थीको मुटु परीक्षण गरिएको छ।
कुश्मामा रहेको आदर्श माविमा विशेषज्ञ डाक्टरसहितको मुटुरोग शिविर सम्पन्न भएको हो। सो अवसरमा ५१५ जनाको मुटु परीक्षण गरिएको हो। निःशुल्क कार्डियो शिविरमा परीक्षण गरिएका मध्ये मधुमेहको १५० जना, इसिजी १४० जना, इको ११५ जना रहेको र जसमा कार्डियो रोगसँंग सम्बन्धित विशेष १०० जनाभन्दा बढी बिरामी परीक्षण गरिएको चिकित्सकले बताएका छन्। धेरै जना बिरामी सुगर, उच्च रक्तचाप भएका भेटिएको कार्डियोलोजिस्ट प्राडा श्यामराज रेग्मीले बताए।
भिगा फर्मास्युटिकल्स अनामनगर काठमाडौँद्वारा बिरामीलाई करिब दुई लाख रुपैयाँ बराबरको औषधिसमेत निशुल्क वितरण गरिएको थियो। शिविरमा मुटुको औषधि खाइरहेका, उच्च रक्तचाप भएकालगायत मुटुरोगसँंग सम्बन्धित बिरामीको उपचार भएको विद्यालयका प्रधानाध्यापक हिमबहादुर पौडेल क्षेत्रीले जानकारी दिए। रासस