शनिबार विहान १० बजेतिर एक जना व्यक्ति भक्तपुरको महानगरीय प्रहरी प्रभाग आए। मेरो श्रीमतीलाई मैले खुकरी हाने भन्दै उनले आफूले पनि विष सेवन गरेको बताए। सुरुमा त प्रहरीले उनको कुरा पत्याएनन्। विष सेवन गरेको बारम्बार उनले दोहोर्याएपछि प्रहरीले उनलाई अस्पताल लिएर गयो ।
उनी थिए भक्तपुर चाँगुनारायण ५ छालिङका ४४ वर्षीय ज्योतिराज थापा। थापालाई प्रहरीले भक्तपुर अस्पताल लगेपछि अस्पतालले वीर अस्पतालमा रिफर गरिदियो। उनको ११ बजे मृत्यु भयो । पछि प्रहरी टोली उनको घरमा पुग्यो घरमा उनकी ४० वर्षकी श्रीमती बुना मृत अवस्थामा भेटिइन।
धारिलो हतियार हानेर उनको हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले बताएको छ। घरायसी कारण थापाले श्रीमतीको हत्या गरेको र आफूले पनि विष पिएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।