जन्मदिनमा सजाईएको केकजस्तो
शिकारीको पासोमा परेको मृगजस्तो
टुक्रा टुक्रा पारेर, भाग भागमा बाँडौ।
विलो जस्तै यो देशलाई
टिलो जस्तै सम्झेर जसलाई
जतापट्टी मनपर्छ कसलाई
के मनपर्छ खण्डखण्डमा विभाजन गरौं
किन चाहियो एकता?
किन चाहियो पूर्णता?
सम्पुर्णतामा नअटाउने गरी
सम्प्रदायिकताको रंग र
बिखण्डनको आयतन बढिरहेछ
खन्याउँ यो भूमीमा हाम्रो विलाशिता र
छताछुल्ल पारौं राष्ट्रियता
नेता ज्यू! आउनुहोस् देश बाडौं।
उ मधेसी, म पहाडे, अनि त्यो हिमाली
त्यो क्षेत्री, म बाहुन, उ थारू, लिम्बुवान
म हिन्दु, त्यो मुस्लिम, अनी उनीहरू जैन
उ बुद्दिष्ट, त्यो क्रिस्चियन
किन चाहियो सहिष्णुता?
किन चाहियो धार्मिक एकता?
उ धनी, म गरिब
म पुरूष, उ महिला
किन चाहियो वर्गीय र लैंगिक समानता?
टुट्ने र फुट्ने यो महान युगमा
जुटाएर राज गर्न को चाहन्छ र !
सबै विखण्डनकारी मिलेर चाक्ला चाक्ला पारौं
नेता ज्यू! आउनुहोस् देश बाडौं।
मैले पहिलो पटक आँखा खोल्दा देखेको हिमाल
उसले पहिलो पाईला चाल्दा टेकेको धर्ती र
त्यसले पहिलो पटक बोली फुट्दा बोलेको शब्द
"नेपाल आमा"
गर्वका साथ हेर्न, छुन र भन्न पाईंदैन भने
यो जन्मभूमीको के अर्थ भयो र!
यहाँ कदमकदममा
प्रत्येक भूखण्ड र कान्ला करेसापिच्छे
जातियता र धर्मको कार्ड फेर्नुपर्छ
आफू नेपाली हुनुमा गर्व गर्न सोच्नपर्छ
लाग्छ कथित ति परिचयपत्रहरूले
हाम्रो जीन्दगीको भिसा थपिरहेछन्
आज कहीं कतै पनि
नेपाल र नेपाली भएर बाँच्न पाईदैन
जात र धर्मका नाममा
आँखा र नाकका नाममा
भाषा र रंगका नाममा
विभाजित र खण्डित हुनुपरेको छ
यदी यहाँ सबैलाई, फुट्नै मन लागेको भए
टुक्रिनै रहर जागेको भए
हामी मात्र किन अछुतो बसौं
नेता ज्यू! आउनुहोस् देश बाडौं।