तारुकामा माघे सङ्क्रान्तिमा गोरु जुधाउनका लागि गोरु जुधाई मेला व्यवस्थापन समिति गठन गरिएको छ।
जिल्लाको पहिचानका रुपमा रहेको तारुकाको गोरु जुधाइ मेला व्यवस्थित रुपमा सम्पन्न गराउनका लागि स्थानीय राजनीतिक दल र गोरुपालक किसानको सहमतिमा दीपेश शाक्यको अध्यक्षतामा नौ सदस्यीय गोरु जुधाइ मेला व्यवस्थापन समिति गठन भएको हो।
तारुकामा भएको भेलाले गठन गरेको समितिका सचिवमा साधुराम सिग्देल र कोषाध्यक्षमा बद्री ढुङ्गाना तथा सदस्यमा राज्यलक्ष्मी श्रेष्ठ, माधव बखरेल, श्याम अछामी, सङ्गीता शाही, कृष्ण तामाङ र शर्मिला सिग्देल छन्।
भेलाले जनकराज ढुङ्गानाको संयोजकत्वमा सल्लाहकार समिति गठन गरेको छ। समितिले अब चाँडै गोरु दर्ताका लागि सूचना जारी गर्ने छ।
तारुका गाविसको चन्दनीको ठूलो पाटामा हरेक वर्ष गोरु जुधाइँदै आएको छ। तारुका, बुधसिङ, रातमाटेलगायत क्षेत्रमा सयौँ वर्षअघिदेखि गोरु जुधाइँदै आएकामा २०६२ सालदेखि भने तारुकाले एकै स्थानमा माघे सङ्क्रान्ति पर्वका रुपमा व्यवस्थित रुपमा गोरु जुधाउँदै आएको छ।
यस्तै नुवाकोटकै बेत्रावतीमा यस वर्ष गोरु जुधाउने तयारी सुरु भएको छ। स्थानीय गोसाइँकुण्ड युवा क्लब मेलाको खर्च जुटाउन र प्रचारप्रसारमा जुटिसकेको क्लबका अध्यक्ष सुरज लबटले बताए। रासस