सातौ राष्ट्रिय खेलकुद अन्तर्गत शुक्रबार भएको पुरूष क्रिकेटमा एपिएफ र मध्यमाञ्चलले विजयी सुरूवात गरेका छन्।
साविक विजेता सशस्त्र प्रहरीको एपिएफलाई मध्य पश्मिाञ्चलले कडा टक्कर दिएपनि २६ रनले खेल गुमाउन पुगेको छ।
सातौं बृहत राष्ट्रिय खेलकुदअन्तर्गत शुक्रबारदेखि सुरु भएको पुरुष टि२० क्रिकेट प्रतियोगिताअन्तर्गत पहिलो खेलमा कप्तान पारस खड्काले उत्कृष्ट ब्याटिङ गरिरहेका प्रनित थापालाई ४० रनमा बोल्ड गरेपछि मध्यपश्चिमले खेल गुमायो।
विराटनगरमा भएको पहिलो खेलमा राष्ट्रिय खेलाडीले भरिएको एपिएफले मध्यपश्चिमाञ्चललाई २६ रनले हरायो। टस हारेर पहिले ब्याटिङ गरेको एपिएफका लागि सन्दिप सुनारले सर्वाधिक ५१ रन बनाए। यस्तै प्रदीप ऐरीले २९ तथा कप्तान पारस खड्का २६ रनमा नटआउट भएपछि निर्धारित २० ओभरको खेलमा एपिएफले ४ विकेट गुमाउँदै १४५ रन बनायो।
एपिएफका ओपनर सुवास खकुरेल(३) र आशिफ शेख (४) रनमा आउट भएका थिए। मध्यपश्चिमाञ्चलका लागि अमर रौतेलाले २ तथा सिद्धार्थ राज शाहीले एक विकेट लिएका थिए।
१४६ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको मध्यपश्चिम पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर ११९ रनमा समेटियो। उसका लागि प्रनित थापाले सर्वाधिक ४० रन बनाए। एपिएफका पारस खड्काले ३ तथा भुवन कार्की, शक्ति गौचन र करण केसीले १-१ विकेट लिए।
यस्तै आजै भएको दोस्रो खेलमा मध्यमाञ्चलले पूर्वाञ्चललाई ४ रनले हराएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको मध्यमाञ्चलले २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १२० रन बनाएको थियो। जवाफी व्याटिङमा आएको पूर्वाञ्चल २० ओभर खेल्दै ११६ रनमा समेटिएको थियो।