एन्टारटिका महादेशको सर्वोच्च शिखर भिन्सन मासिफमा नेपालको राष्ट्रिय झण्डा फहराइने भएको छ।
एन्टारटिका आरोहणको तयारीमा रहेका कीर्तिमानी विश्व पर्वतारोही सञ्जय पण्डितले राष्ट्रिय झण्डासहित आरोहणमा जान लागका हुन्।
उपराष्ट्रपति नन्दबहादुर पुनले आज लैनचौरस्थित निवासमा आरोही पण्डितलाई राष्ट्रिय झण्डा र हिमालमा प्रयोग हुने आइस एक्स (हिउँ बञ्चरो) प्रदान गरेका छन्। आरोहणका लागि शुक्रबार एन्टारटिका जाने पण्डितले बताए।
सो अवसरमा उपराष्ट्रिपति पुनले आरोही पण्डितले नेपालको राष्ट्रिय झण्डा एन्टारटिकामा फहराउने कुरामा आफू विश्वस्त रहेको बताए।
पण्डितले एसियाको सगरमाथा, अफ्रिकाको किलिमञ्जरो, युरोपको सर्वोच्च शिखर एलब्रस, अमेरिकाको सर्वोच्च शिखर एकन्कागुवाको सफल आरोहण गरिसकेका छन्।
एन्टारटिका महादेशमा यसअघि बुटवलका भुवनसिंह विश्वकर्मा, रामबहादुर खत्री र अर्जुनकुमार थापा गरी तीन नेपाली पुगेका थिए । रासस