बुधबार बर्दियामा संरक्षित वन्यजन्तु सालक फेला परेको छ। ताराताल सानोश्री नगरपालिका ७ गंगावस्तीमा एक्कासी बाटोमा सालक देखिएपछि स्थानीयले जिल्ला वन कार्यालय बर्दियामा जानकारी गराएका थिए। कार्यालयको टोलीले सालकलाई सुरक्षित उद्दार गरेका छन् र यसलाई बर्दिया राष्ट्रिय निकुञ्जमा बुझाइने जिल्ला वन कार्यालय बर्दियाका प्रमुख बलिराम पण्डितले बताएका छन्।
सरकारले बाघ, गैंडा, चितुवा, कस्तुरी, भालु र रातो हाब्रेसँगै सालकलाई पनि अति संकटापन्न जनावरको सूचीमा राखेको छ। वन तथा भूसंरक्षण मन्त्रालयको सालक सर्वेक्षणको टोलीले जिल्लाहरुमा गरेको पछिल्लो तथ्याङ्कअनुसार नेपालमा हाल ४३ जिल्लामा सालक रहेको पाइन्छ। नेपालमा कालो सालक र तामे सालक मात्र पाइन्छ। सालकलाई संकटापन्न सूचीमा राखेपनि जिल्ला मात्र होइन नेपालमै सालकको संख्याको बारेमा तथ्याङ्क नरहेको समेत पण्डितले बताए।
सालक विषेशगरी भारत, चीनलगायत एसियाली राष्ट्र र अफ्रिकाका उष्णभूभागमा पाइन्छ। सालकलाई किसानको साथी पनि भन्ने गरिन्छ। सालकले खेतीबाली र उत्पादनलाई हानी नोक्सानी गर्ने किराहरु खाएर नियन्त्रण गर्दछ। सालकले एक बर्षमा करिब सात करोडभन्दा बढी किरा फट्यांग्रा खाने विश्वास गरिन्छ।
सालक विश्व मै बढी चोरी सिकार हुने प्रजातीमध्येको एक हो। सालकको अवैधरुपमा शिकार, कारोबार गर्नेलाई ५ देखि १५ वर्षसम्म कैद वा ५० हजारदेखि १ लाखसम्म जरिवानासहित दण्ड सजाय हुने पण्डितले जानकारी दिए।