अस्ट्रेलियाको मेलबर्नमा आयोजित नेपाल महोत्सवमा भाग लिइ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाही गएराति स्वदेश फर्केका छन्।
नेपालको पर्यटन प्रवद्र्धनका लागि मेलबर्नमा गत मङ्सिर २९ देखि पुस ६ गतेसम्म आयोजना भएको महोत्सवमा नेपालको संस्कृति, वेषभूषा, रहनसहन, रीतिरिवाज तथा नेपालका पर्यटकीय गन्तव्यको प्रदर्शनी गरिएको थियो ।
महोत्सवले नेपालको प्रकृति र संस्कृतिको उजागर र पर्यटन प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका खेलेको स्वदेश फर्कनुभएपछि मन्त्री शाहीले बताएका उनका प्रेस सल्लाहकार सुनिल सापकोटाले जानकारी दिए।
अस्ट्रेलिया भ्रमण राजनीतिक, सांस्कृतिक र पर्यटन प्रवद्र्धनको हिसाबले ऐतिहासिक र महत्वपूर्ण उपलब्धि रहेको मन्त्री शाहीको भनाइ थियो ।
त्यस्तै अस्ट्रेलिया भ्रमणको क्रममा मन्त्री शाहीले भिक्टोरियाका बहुसांस्कृतिक तथा अर्थमन्त्री रविन स्कट, भिक्टोरियाका विपक्षी दलकी नेत्री जीङ ली, भिक्टोरिया व्यवस्थापिका परिषद्का अध्यक्ष ब्रुस अट्किन्सनलगायतसँग राजनीतिक भेटवार्ता गरेका थिए।
भेटका क्रममा नेपालको पर्यटन प्रवद्र्धन गर्ने सम्झौता समेत भएको र यसले अस्ट्रेलियामा नेपालको पर्यटन प्रवद्र्धन गर्न कोसेढुङ्गा सावित हुने बताइएको छ ।
भिक्टोरियाका बहुसांस्कृतिक मन्त्री र भिक्टोरिया संसद्का अध्यक्षलाई मन्त्री शाहीले नेपाल भ्रमणको निम्तो दिएको र उनले सांस्कृतिक सम्पदाको धनी र पर्यटकीय सम्भावना बोकेको मुलुक नेपालको भ्रमण गर्न इच्छुक रहेको जवाफ दिएका थिए। रासस