राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले २०३८ सालमा काठमाडौंमा पहिलो बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय गर्यो। राष्ट्रिय प्रतियोगिताको घोषणा त भयो तर प्रतियोगिताका लागि आवश्यक खेलकुद धुन बनाउने कसरी? त्यतिबेला राखेपका सदस्य–सचिव थिए, शरदचन्द्र शाह। त्यस्तै, कोषाध्यक्षमा बिष्णुगोपाल श्रेष्ठ।
धुनको विषयमा लामै चर्चा–परिचर्चा भएछ। अन्ततः गोपाल योञ्जनलाई खेलकुद धुन बनाउन लगाउने निर्णय भयो।
निर्णय त भयो तर, राखेप पदाधिकारीलाई फेरि परेछ फसाद। योञ्जनलाई मनाउने कसरी? संगीतकार त्यसै त मुडी स्वभावका हुन्छन्। त्यसमा पनि योञ्जन त्यतिबेला नेपाली संगीतको चर्चित हस्ती भइसकेका थिए।
तैपनि फुटबलका वरिष्ठ प्रशिक्षक भीम थापामार्फत योञ्जनलाई मनाउने उपाय निकालेछन्, बिष्णुगोपालले। त्यतिबेला भीम थापा नयाँ शिक्षा योजनाअन्तर्गत शिक्षा मन्त्रालयले लागु गरेको अतिरिक्त क्रियाकलाप मातहत क्षेत्रीय निर्देशनालयमा कार्यरत थिए। उनको अफिस नागपोखरीमा थियो, योञ्जनको डोरानजिकै हात्तीसारमा।
वास्तवमा भीम थापाको सम्बन्ध धेरै अगाडिदेखि योञ्जनसँग थियो। उनले कल्याण शेरचनमार्फत योञ्जनलाई चिनेका थिए।
अफिसबाट फर्किँदा उनी दैनिक योञ्जनको डेरा छिर्थे। त्यसपछि यिनीहरूको सुरु हुन्थ्यो, क्यारेम खेल्ने अभियान। यस्तैमा एकदिन थापाले प्रस्ताव राखेछन् योञ्जनलाई, ‘दाई, काठमाडौंमा पहिलोपल्ट बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुँदैछ। तपाईले खेलकद धुन तयार पारिदिनुपर्यो।’
त्यतिबेला खै के मुडमा थिए, योञ्जन। एकै बोलीमा ओके गरिदिएछन्। २०३३ सालमा तत्कालीन राजा वीरेन्द्रको राज्याभिषेकका अवसरमा काठमाडौंमा ठूलै खेल महोत्सव भएको थियो। त्यतिबेला पहिलोपल्ट चीनबाट पिटी मास्टर बोलाइएको थियो। र, रंगशालामा प्रदर्शनी नै भएको थियो। यतिबेला पनि पिटीको संगीत दिएका थिए, योञ्जनले नै। त्यसैले राखेप उनीबाटै धुन बनाउन चाहन्थ्यो।
योञ्जन राष्ट्रिय प्रतियोगिताका लागि धुन दिन राजी त भए। तर, धेरै दिन बितिसक्यो, धुन तयार भएन। राखेप पदाधिकारी फेरि तनावमा देखिए। उनीहरू एउटा विषयलाई लिएर तनावमा थिए, प्रतियोगिता आयोजना नजिकिँदो छ। योञ्जनले धुन तयार पार्ने हुन कि होइनन्।
विष्णुगोपालले पुनः आग्रह गरेछन्, थापालाई, ‘ल! फेरि भन्नुपर्यो। हामीसँग समय छैन।’
थापाले पनि तुरुन्त डेरा पुगेर योञ्जनलाई सम्झाएछन्,‘दाइ, आपत पर्न लाग्यो। समय निकै कम छ।’ त्यतिबेला योञ्जन अरू नै गीत तयार पार्न व्यस्त थिए। थापाको मलिन अनुहार देखेर योञ्जन एकछिन अवाक परेछन्।र, उनलाई नियाल्दै भने, ‘ल तिम्रो खेलकुदको ‘मोटो’ के हो? मलाई देऊ।’
थापाले तुरुन्त दिइहाले– विकास, अनुशासन, गतिशीलता।
उनलाई एकछिन तलै बस्न निर्दैशन दिँदै योञ्जन माथि पूजाकोठातर्फ लागे। र, आधा घन्टापछि फर्किदा उनीसँगै हातमा थियो, कागजको एउटा टुक्रा। जसमा लेखिएको थियो, नेपाली खेलकुदको सर्वाधिक चर्चित गीत– खेलाडी हो खेलाडी हो....
‘म चकित परेँ। आधा घन्टामा नै उहाँले गीत तयार पारेर ल्याउनुभयो। उहाँ शाकाहारी हुनुहुन्थ्यो। बौद्धमार्गी। गीत लेख्नुपर्यो भने, पूजाकोठामा पस्नुहुन्थ्यो,’३५ वर्ष पुरानो कुरा सम्झन्छन् भीम थापा।
त्यो गीतमा पहिले दुईवटा वाक्य परेको थियो, ‘मुकुटको ज्योति बालेर...’ र ‘यो जिन्दगी नै जुवा हो...।’ यी दुवैमा राखेपलाई आपत्ति रहेछ। राखेपको बोर्ड बैठकमा यी दुवै शब्द हटाउने निर्णय भयो।
अब भीम थापालाई पर्यो फसाद। योञ्जनले मानेनन भने के गर्ने?
बोर्डबाट गीत स्वीकृत भएको भोलिपल्टै योञ्जन रेडियो नेपालबाट म्युजिक भर्ने अभियानमा जुटिसकेका थिए। उनले अघिल्लो दिन नै थापालाई भनेछन्, ‘गीत गाउन सक्ने खेलाडी छन् भने ल्याऊ उनीहरूलाई।’
तर, खेलाडीले के गीत गाउन सक्ने। फेरि, स्वर राम्रा भएका खेलाडी कहाँ खोज्दै हिँड्ने? थापाले भन्दिएछन्, ‘अहँ छैनन्। दाइले नै गरिदिनुपर्यो।’
त्यसपछि आफ्नै समूहमा रहेका कल्याण शेरचन, मिथिला शर्मा, छत्र गुरुङ, पूर्ण नेपाली र विमला राईजस्ता गायकगायिकालाई रेडियो नेपाल लगेर संगीत भर्ने काम भयो।
रिहर्सलमा पनि थापा उपस्थित थिए। जतिपल्ट रिहर्सल भयो । पुरानै शब्दमा। ‘मलाई आपत पर्यो। त्यही शब्दमा राखेपले पास कसरी गर्ला? मैले सोचेँ–अब दुवैतर्फ सम्बन्ध बिग्रियो,’ थापा सम्झन्छन्।
तर, गीतको ‘फाइनल टच’ गर्दा योञ्जनले थापालाई नै चकित तुल्याए। उनले राखेपको विमति रहेको ‘मुकुटको ज्योति बालेर...’ लाई ‘मुकुटको ज्योति साथ लिई..’ मा ढालिदिए। त्यस्तै, जुवा शब्दप्रति असहमत राखेको निर्णयको कदर गर्दै उनले ‘यो जिन्दगी नै जुवा हो...’ लाई ‘...खेल हो..’ गराए। उनको त्यो गीतले सबैको प्रशंसा बटुल्यो। अझ, २०३८ सालको राष्ट्रिय प्रतियोगितामा पहिलोपल्ट रंगशालामा बजाउँदा खेलाडीको मात्र होइन, उपस्थित दर्शकको ज्यान पनि जोशले भरिएको थियो।’
‘हामीले दोस्रो र तेस्रो राष्ट्रिय प्रतियोगितामा पनि उहाँलाई खेलकुदको धुन बनाउन लगायौं। तर, ती गीत पहिलोजस्तो चर्चित भएन। सुन्दै मुट धक्क फुल्ने,’बिष्णुगोपाल भन्छन्।
२०३८ सालमा काठमाडौंमा राष्ट्रिय प्रतियोगिता हुँदा भीम थापा भारतको पटियालामा १० महिनाका लागि प्रशिक्षण कोर्स गर्न गएका थिए। त्यसैले उनले यो गीत सार्वजनिक भएको सुन्न पाएनन्। तर, २०३९ सालमा नेपाल फर्किदा उनी चकित परे।
यो गीत सबैको जनजिब्रोमा झुन्डिसकेको थियो, खेलाडी हो खेलाडी हो....