डलीको जन्म सन् १९९६ मा भएको थियो।
उनी ‘क्लोनिङ’ गरेर टेस्टट्युबबाट जीवन पाउने पहिलो भेडी हुन्।
दुर्भाग्यले वैज्ञानिकहरूको यो प्रयोग सफल भएन। डली सानैदेखि रोगी भइन्। एक वर्षको उमेरमै उनी आफ्ना समकालीन भेडाहरूभन्दा बढी नै छिप्पिएकी थिइन्। पाँच वर्ष पुग्दासम्म उनका हाडजोर्नी खिइन थाले।
जब डली छैटौं वर्ष टेकिन्, उनको फोक्सोमा ट्युमर पलायो। सिटी–स्क्यान रिपोर्टअनुसार उनको ट्युमर निको नहुने खालको थियो। त्यसपछि त वैज्ञानिकहरूले आसै मारे। दिनप्रतिदिन डली रोगले थलिँदै गइन्। उनको पीडा बढ्दै गयो। उनलाई यही हालमा जीवित राख्नु भनेको थप कष्ट दिँदै जानु हो भन्ने वैज्ञानिकहरूको निष्कर्ष रह्यो।
एकदिन उनीहरूले अप्रिय निर्णय लिए। डलीलाई कष्टपूर्ण जीवनबाट बचाउन एउटा सजिलो इन्जेक्सन लगाइदिए।
डली शान्त भइन्।
उनको सहज मृत्यु भयो।
वैज्ञानिकहरूले २० वर्षअघि ठ्याक्कै यही महिना एक जवान भेडीको फाँचोबाट कोष निकालेर त्यसलाई अर्को भेडीको अन्डसँग अप्राकृतिक रूपमा सेचन गरी नयाँ भेडीलाई जन्म दिएका थिए। र, नाम राखेका थिए– डली।
वैज्ञानिक प्रयोगशालामा अप्राकृतिक रूपले जन्माइएको भए पनि डली शारीरिक र मानसिक रूपले प्राकृतिक भेडाजस्तै थिइन्। दुवैको ‘जिन’ समान थियो। उनी आधुनिक विज्ञानको यस्तो ‘चामत्कारिक’ खोज थिइन्, जसले उपन्यास र सिनेमामा मात्र देखिने कल्पनालाई यथार्थमा परिणत गर्यो। तर, यो खोजबाट संसार आत्तियो। अब क्लोनिङ विधिबाटै भकाभक मान्छे पनि उत्पादन हुन थाल्छ र पृथ्वीको जैविक विकास प्रक्रिया नै अवरुद्ध हुन्छ भन्दै संसारभरिका अभियन्ताहरूले यो अनुसन्धानको विरोध गरे।
डली त बाँचिनन्, तर के डलीसँगै ‘क्लोनिङ’ पद्धति नै असफल भयो त?
आउनुस् भेटौं, डलीका चार दिदीबहिनीलाई– डेजी, डायना, डेबी र डेन्सी।
यी चारै दिदीबहिनीको जन्म त्यही जिन र त्यही प्रविधिबाट भएको हो, जुन जिन र प्रविधि प्रयोग गरेर २० वर्षअघि डलीको जन्म भएको थियो। खुसीको कुरा, यी चार दिदीबहिनी आज पनि स्वस्थ छन्। उनीहरूको शारीरिक तथा मानसिक विकास प्राकृतिक रूपमा जन्मिएका समकालीन भेडाहरू जस्तै छ।
‘यी चारै भेडीहरु परिपक्व भइसकेका छन्,’ अनुसन्धानकर्ता केभिन सिनक्लेयर भन्छन, ‘उनीहरू आफ्नो उमेरअनुसार पूर्ण स्वस्थ छन्।’
‘क्लोनिङ’ विधिबाट जन्माइएका सबै जनावर डलीजस्तै आफ्नो उमेरभन्दा चाँडै वृद्ध हुन्छन् कि हुन्नन् भन्ने विज्ञानसामु तेर्सिएको प्रश्नको जीउँदोजाग्दो जवाफ हुन्- डेजी, डायना, डेबी र डेन्सी।
२० वर्षअघि 'क्लोनिङ' बाट जन्माइएकी डली। तस्बिर स्रोत: नेसनल म्युजियम स्कटल्यान्ड
अनुसन्धानकर्ता सिनक्लेयरले यी चार दिदीबहिनीका अतिरिक्त क्लोनिङ गरेर जन्माइएका अन्य नौवटा भेडाको पनि अध्ययन गरेका थिए। उनले नटिङघम विश्वविद्यालयका आफ्ना सहकर्मीसँग मिलेर गरेको यो खोज केही महिनाअघि वैज्ञानिक जर्नल ‘नेचर कम्युनिकेसन्स’ मा छापिएको छ, जसको निष्कर्ष छ– ‘प्राकृतिक रुपले जन्मिएका र क्लोनिङ गरेर जन्माइएका भेडाको शारीरिक विकासमा कुनै अन्तर छैन।’
यो अनुसन्धानको सुरुआत वैज्ञानिक केइथ क्याम्पबेलले गरेका थिए। सन् २०१२ मा उनको निधनपछि केभिन सिनक्लेयर यसमा संलग्न छन्। उनले अध्ययन गरेका भेडाहरू अहिले ७ देखि ९ वर्षका भए। यिनको हृदयरोग, मधुमेह र जोर्नीहरूको नियमित परीक्षण भइरहेको छ।
सिनक्लेयरका अनुसार यिनको शरीरमा ग्लुकोज र इन्सुलिनको मात्रा सामान्य छ। रक्तचाप पनि सामान्य छ। डेबीको शरीरमा भने जोर्नीको समस्या देखिएको छ। तर, त्यो असाधारण समस्या नभएको उनी बताउँछन्।
‘यी पनि अरू भेडाजस्तै हुन्, क्लोनिङ गरेर जन्माइएको हो भन्दैमा यिनीहरू राक्षस होइनन्,’ क्लोनिङसबन्धी अनुसन्धान गर्ने इटालीका वैज्ञानिक पासक्वालिनो लाओ भन्छन्।
त्यसो भए क्लोनिङ गरिएका अन्य भेडाजस्तै डलीको विकास किन सामान्य हुन सकेन?
वैज्ञानिकहरूका अनुसार डलीमा मधुमेह र मोटोपनाको समस्या देखिएको थियो। यही रोग बल्झँदै जाँदा अन्य समस्या थपिँदै गए। त्यही बेला क्लोनिङ प्रविधिलाई लिएर चर्को विरोध भयो। यसले नैतिकता र क्लोनिङ गरिएका जनावरको सुरक्षासम्बन्धी प्रश्न यति तीव्र रूपमा उठ्यो, वैज्ञानिकहरूले त्यसको सामना गर्नै सकेनन्।
यही क्रममा क्यानडा, अस्ट्रेलिया लगायत धेरै विकसित देशले क्लोनिङबाट पशु उत्पादन गर्नमै बन्देज लगाइदिए। सन् २००५ मा अमेरिकी सरकारले पनि मानव जीवनमा कुनै किसिमको क्लोनिङ गर्न नपाउने नियम लागू गर्यो। यसले औषधि विज्ञानको खोजलाई नै प्रभावित पार्यो। हुँदाहुँदा गत वर्ष त युरोपियन युनियनले क्लोनिङ गरेका जीवजन्तुको मासु आयात तथा बिक्रीवितरणलाई नै गैरकानुनी घोषित गर्यो।
क्लोनिङलाई लिएर आज पनि संसारभरि नैतिक प्रश्न छँदैछ। यसको विश्वसनीयतामै प्रश्न पनि कायम छ। यति हुँदाहुँदै क्लोनिङ गरी जन्माइएका जनावर धेरै समय बाँच्दैनन् र बाँचे पनि स्वस्थ हुँदैनन् भनी शंका गर्नेहरूलाई नयाँ अनुसन्धानले वैज्ञानिक प्रमाणसहित गलत साबित भने गरिदिएको छ।
‘क्लोनिङ प्रविधिबाट जन्माइएका जनावरहरू सुरुका केही वर्ष बाँच्ने हो भने उनीहरूको स्वास्थ्य र आयु प्राकृतिक रूपले जन्मिएका जनावरको जस्तै सामान्य हुन्छ,’ सिनक्लेयर भन्छन्, 'यसले संसारको बढ्दो जनसंख्यालाई खानेकुरा उपलब्ध गराउन, लोपोन्मुख जनावर जोगाउन र नयाँ उपचार पद्दति विकास गर्न सहयोग पुग्नेछ।'
सिनक्लेयर र उनका सहकर्मीहरूले क्लोनिङ गरिएका भेडाहरू अब अर्को वर्षसम्म बाँच्ने अपेक्षा गरेका छन्। त्यसपछि भने यिनको जीवनमा अहिलेसम्म नदेखिएका जटिलता देखिन थाल्नेछन्, जसबारे थप अध्ययन हुँदै जानेछ।